धनगढी : कैलालीको धनगढीमा आयोजित ‘दलित सामाजिक मञ्च’ मा दलितका सवालका विषयमा छलफल गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रमुख आतिथ्यतामा उद्घाटन भएको एक समारोहमा विभिन्न प्यानल दलितका सवालका विषयमा छलफल गरिएको हो ।
जसअन्तरगत समानुपातिक समावेशिताका लागि संविधान ऐन कानुनमा गरिएका व्यवस्था र सुदूरपश्चिममा समानुपातिक समावेशिताको अवस्था, जातीय छुवाछुतको अन्त्य र दलित समुदायको सशक्तीकरणका लागि राज्यले बनाएका ऐन कानुन र संरचना कार्यान्वयनको अवस्था, सुदूरपश्चिममा जातीय छुवाछुतको अवस्था र राज्यले खेलिरहेको भूमिका र महिला, दलित महिला, बालबालिका लगायत पछाडि पारिएका दलित समुदायको राज्यले सशक्तीकरणका लागि प्रदेश सरकार र स्थानीय सरकारका नीति कार्यक्रम र बजेटमा गरेका व्यवस्था र यसमा दलित समुदायको पहुँचको विषयमा छलफल गरिएको थियो ।
समारोहको उद्घाटन सत्रमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन आवश्यक रहेको बताए । उनले विभेद र छुवाछुत अन्त्य नहुँदासम्म समाज र देशको विकास हुन नसक्ने बताएका थिए । दलित समुदायका लागि संविधानमा पर्याप्त अधिकारहरू दिइएको भन्दै अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्न आवश्यक उनले बताए ।
प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले समाजमा पछिल्लो समय जातीय विभेद कम हुँदै गए पनि अझै अन्त्य भने हुन नसेकेको बताए। उनले समाजलाई विभेदमुक्त बनाउनु पर्नेमा जोड दिएका थिए । छुवाछुत दण्डनीय रहेको भन्दै त्यस्तालाई कारबाही हुने समेत उनले बताए ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले दलित अधिकार स्थापित गर्ने गरि कानुन निर्माणको तयारी भइरहेको बताए । कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सांसद लक्ष्मी विक, प्रदेश सभा सदस्य ललिता सुनार लगायतले विभेद र छुवाछुत अन्त्यका लागि सबै लाग्नु पर्ने बताएका थिए ।