काठमाडौं : पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा कुहिरोको सम्भावना छ ।
शुक्रबारदेखि बदली र वर्षा
शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेमहाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘शुक्रवारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिवार वर्षा हुने देखिन्छ’, उनले भनिन्, ‘देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।’