बैतडी : बैतडीमा निस्सासिएर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए । उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकका आफन्त कैलालीबाट आउन लागेकाले त्यसपछि मात्रै पोष्टमार्टम कार्य अघि बढ्ने प्रहरी निरीक्षक पाण्डेयले बताए । कोइला बालेर सुतेका कारण थारुको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।