धनगढी : धनगढीमा रहेको चैतन्य पाठशालाले विद्यार्थी महोत्सव आयोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई विज्ञान र प्रविधिमा प्रोत्साहित गर्ने उद्देश्यले पाठशालाले महोत्सव आयोजना गर्ने भएको हो ।

पाठशालाले विगतमा गर्दै आएको स्टीम फेयर तथा खेलकुद सप्ताहलाई यसवर्षदेखि महोत्सवको रुपमा मनाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पाठशालाका अध्यक्ष गणेश जोशीले यही पौष २७ देखि माघ ५ गतेसम्म विद्यालय परिसरमै महोत्सव आयोजना गरिने बताए । महोत्सवमा ‘रक्तदान जीवनदान : मानव सेवाका लागि चैतन्य अभियान’ शुरु गर्ने समेत बताए ।
उनले विज्ञान प्रविधिको अन्वेषण र प्रयोगात्मक परियोजनाको प्रयोग गरिनुका साथै कला, साहित्य, संस्कृति, रहनसहन, खानपान र मौलिकताको पहिचान र प्रदर्शनी गरिने बताए । महोत्सवमा विभिन्न महत्वपूर्ण खेलहरूको प्रतिस्पर्धा, आट्र्स एक्जिविशन, नृत्य, संगित र गायनको प्रतिस्पर्धा, चैतन्य ट्यालेन्ट हन्ट कम्पिटिशन, अभिभावकहरूबीच रमाइलो खेल र प्रतिस्पर्धात्मक खेल, लगायत मुख्य क्रियाकलाप रहने अध्यक्ष जोशीले बताए ।
महोत्सवका लागि काठमाडौंको रातो बंगला लगायत प्रतिष्ठित विद्यालयहरुसंगको समन्वय भएको उनले बताए । पाठशालाले सोमबार नै नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखका नवनिर्वाचित पदाधिकारी तथा सदस्य बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।
