नागरिक सामाजद्धारा गेटामा मेडिकल विश्वविद्यालय शीघ्र सुचारु गर्न माग

अत्तरिया : नागरिक समाजले कैलालीको गेटामा घोषणा गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सुचारु गर्न माग गरेको छ ।

सोमबार विश्वविद्यालयको प्राङ्गणमा दबाब तथा ध्यानाकर्षण कार्यक्रम गर्दै समाजले मेडिकल विश्वविद्यालय शीघ्र सुचारु गर्न माग गरेको हो । नागरिक समाजले करिब २ घण्टा विश्वविद्यालयको प्राङ्गणमा उभिएर मेडिकल विश्वविद्यालय विधेयक द्रुत गतिमा पारित गर, मेडिकल कक्षा शीघ्र सञ्चालन गर लेखिएको ब्यानर टाँसेर सरकारको ध्यानाकर्षण गरेको थियो ।

यसबिच अनौपचारिक रूपमा सञ्चालित कार्यक्रममा बोल्दै तत्कालीन गेटा मेडिकल कलेजका पूर्वाधार विकास समितिकाका पूर्व निर्देशक हेमराज पुजाराले २८ लाख जनसङ्ख्या भएको सुदूरपश्चिममा हाल सम्म एउटा पनि मेडिकल कलेज नभएको अवस्था हुनु दुखद भएको बताए । उनले गेटामा २०७८ सालमै ६ सय बेडको संरचना तयार हुँदा पनि कानुन नल्याउँदा ढिलाइ भइरहेको बताए ।

उनले विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाबाट पारित भएको १६ महिना पुग्दा पनि अझै प्रतिनिधि सभाबाट पारित नहुँदा आफूहरू नागरिक समाज सँगै विरोधमा उभिएको बताए । नागरिक समाजका राजेन्द्र वीर चन्दले गेटामा मेडिकल विश्वविद्यालय स्थापना भएमा यस क्षेत्रमा १० हजार बढीले रोजगारी नै पाउने भएकाले यस क्षेत्रको आर्थिक चलायमान हुने बताए । उनले यसलाई चाँडो सञ्चालनमा ल्याउनेको लागि राज्यले ध्यान दिनुपर्ने बताए ।

नागरिक समाजका डिल्ली राज जोशीले सबैको माग अनुसार यसको सुनुवाइ नहुँदा नागरिक समाज सडकमा उत्रिएको बताए । उनले राज्य यस क्षेत्रका जनताको स्वास्थ्य सेवा पाउने अधिकारबाट वञ्चित गरेको बताए । नागरिक समाजका तीर्थ राज ओझा (गड्सेरा माइला) ले मेडिकल विश्वविद्यालय शीघ्र सञ्चालनको माग गर्दै नागरिक समाजमा सडकमा उभिएको बताए । उनले ६\७ अरवको संरचना बिग्रिने अवस्थामा रहेकाले यसलाई छिटो सञ्चालन गरिनुपर्ने बताए ।

नागरिक समाजका प्रेम राज भण्डारीले सुदूरपश्चिममा गतिलो स्वास्थ्य सेवा होस भन्ने चाहना लामो समय देखि भएपछि त्यो पुरा हुन अझै ढिलाइ भइरहेको बताए । उनले सबै संरचना बन्दा पनि मेडिकल शिक्षाको पढाइ नहुनु यस क्षेत्रको विडम्बना भएको बताए ।

Loading...