समाचार हटाउन डडेल्धुराका सीडीओको धम्की, पत्रकार महासंघद्धारा विरोध

डडेल्धुरा : डेडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले प्रकाशित समाचार हटाउन धम्की दिएका छन । डडेल्धुराबाट सञ्चालन हुने सिमाना न्युज डटकमबाट समाचार हटाउन प्रमुख जिल्ला अधिकारीले लिखित निर्देशन दिएका हुन ।

सीडीओको यो कदमको नेपाल पत्रकार महासंघको डडेल्धुरा जिल्ला, सुदूरपश्चिम प्रदेश र केन्दीय समितिले विरोध जनाएका छन । तीन वटै कार्यसमितिले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सिमाना न्यूज डटकमलाई न्यूज पोर्टल\च्यानलबाट समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट गरिएको पत्राचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेलधुरबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए कानूनी उपचारमा जान सकिने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रचलित प्रावधान रहेको ध्यानाकर्षण गर्दै महासंघले प्रमुख जिल्ला अधिकारी जस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको हर्कत अन्यन्त निन्दनीय भएको भनेको छ ।

१६ पुसमा सिमाना अनलाइनमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको विषयमा समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई लिएर प्रमुख जिल्ला अधिकारी न्यौपानेले कार्यालयकै लेटरहेड प्रयोग गरी न्यूज पोर्टल च्यानलबाट समाचार हटाउन पत्राचार गर्नुका साथै पत्रकारलाई धरपकड गर्ने मौखिक धम्कीसमेत दिएका थिए ।

यसैबिच नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पनि शान्ति सुरक्षाको प्रमुख निकायलाई पत्रकारको सुरक्षामा गम्भीर बन्न आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले प्रमुख जिल्ला अधिकारीबाट भएको औपचारिक दवाबको यो घटनाप्रति गम्भीर हुन र आगामी दिनमा यस किसिमका कार्य नगर्न र दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

 

Loading...