बझाङमा जिप दुर्घटनाहुँदा ३ जनाको मृत्यु, एक गम्भीर

बझाङ : बझाङमा जिप दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिका धमेना नजिकै जीप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनामा परेर १ बालिका गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन् । दुर्घटनामा बम बहादुर धामीकी ६ वर्षीया छोरी आकृति धामी गम्भीर घाइते भएकी छन् ।

से १ ज ८४३ नम्बरको जीप बिहीबार साँझ तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा धमेनामा दुर्घटना भएको हो । जीप करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते आकृतिलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल चैनपुर ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । जीपमा जम्मा चार जना सवार थिए ।

Deep Jyoti Pustak psl
Loading...