गोदावरीको खुटियामा नदीजन्य पदार्थको दोहन रोक्न स्थानीयको माग

अत्तरिया : कैलालीको खुटिया नदीमा नदीजन्य पदार्थको दोहन रोक्न स्थानीयले माग गरेका छन् । आइतबार स्थानीयले नगरपालिका कार्यालयमा आएर नदीमा अन्दाधुन्द नदीजन्य पदार्थ उत्खनन गरेर दोहन भइरहेको भन्दै रोक्न माग गरेका हुन ।

स्थानीय गोपाल देउवाले नगरपालिकाले टेन्डर मार्फत नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेको भए पनि व्यक्तिगत फाइदा लिन काम भएको बताए । उनले विकास निर्माणको काम भन्दा व्यक्तिगत स्वार्थको लागि जेसीवी लगाईएको बताउदै त्यसले पुल धरापमा पर्नुका साथै बस्ती र वन जोखिममा परेको बताए । अन्दाधुन्द जेसीबी नलगाइदिनका निमित्त नगरपालिकालाई झकझक्याउन कार्यालयमा पुगेको बताउदै देउवाले स्थानीय जनताको उठिबास लगाउने काम नगरिदिन आग्रह गरेका छन् ।

अर्का स्थानिय टेक बहादुर ऐरले नगरपालिकाले बर्सेनि करोडौँ उठाए पनि नदी छेउको बस्तीलाई जोखिममा पार्ने गरी काम गरिरहेको बताए । उनले नदीबाट नदीजन्य पदार्थ उठाएपछि सो क्षेत्रमा तटबन्धको काम पनि गरिनुपर्ने बताएका छन् । बल्मीका प्रताप थापा मगरले नगरपालिकाले बर्सेन उठाउने राजस्वको १० प्रतिशत भए पनि तटबन्धको लागि काम गरिनुपर्ने बताए । उनले नदीमा इआइआईले तोकेको क्षेत्रमा मात्रै उत्खनन गर्नु पर्ने भए पनि अन्धाधुन्द उत्खनन भएको बताउदै उनले अनुगमन गर्ने निकाय मौन बसेको बताए । स्थानीय शिविरका बासिन्दा खम्बिर महत्राले नगरपालिकाले सयौँको सङ्ख्यामा जेसीवीलाई अनुमति दिएर बस्तीमा भएको जोखिमको कुनै वास्ता नगरेको बताए।

स्थानीय नगरप्रमुखलाई भेटेर गुनासो राख्नको लागि आएको बताए पनि नगरप्रमुख नभेटिएपछि प्रमुख प्रशासकीय अधिकृतलाई भेटेका थिए । प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्टले नदी जन्य पदार्थ उत्खननका क्रममा त्रुटि भेटिए पनि त्यसको न्यूनीकरणको लागि स्थानीयले पनि साथ दिनुपर्ने बताए । उनले सबैतिर हेर्नुपर्ने भएकाले दैनिक अनुगमन गर्न नसकिएको बताउँदै नगर प्रहरी पनि कम भएकाले परिचालन गर्न नसकिएको बताएका छन् ।

महेन्द्र राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-८ मा पर्ने खुटिया नदीको रहेको पुल मुनिको क्षेत्रबाट नदीजन्य पदार्थको सङ्कलन तथा उत्खनन गरेको पाइएपछि बिहीबार राती कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको टोलीले ४ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो । त्यसपछि पनि अन्दाधुन्द दोहन नरोकिएको स्थानीयको भनाइ छ ।

Loading...