कञ्चनपुरको कृष्णपुरमा ‘सिकलसेल’ रोगको निःशुल्क परीक्षण शिविर

१४८० जनामा गरिएको परिक्षणमा ९५ जनामा सिकलसेलको लक्षण

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचान तथा निदानका लागि निःशुल्क परिक्षण शिविर सञ्चालन गरिएको छ । सिकलसेल रानाथारू समुदायमा बढी देखिने भएकाले नगरपालिकाले निमेष सामुदायिक अस्पताल गुलरियाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो।

आईतबार वडा नम्बर ९ स्थित राजघाट र सोमबार वडा नम्बर ८ स्थित रैकवार विचवा स्वास्थ्य चौकीमा १ हजार ४ सय ८० जनामा गरिएको परिक्षणमा ९५ जनामा सिकलसेलको लक्षण देखिएको छ । वडा नम्बर ९ मा ६१२ जनाको परीक्षण गरिएकोमा ५० जनामा सिकलसेलको लक्षण देखिएको छ भने वडा नम्बर ८ मा ८६८ जनाको परीक्षण गरिएकोमा ४५ जनामा सिकलसेलको लक्षण देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गत वर्ष वडा नम्बर ८ र ९ बाहेकका वडामा सञ्चालन गरिएको शिविरमा तीन हजार ६ सयमा परीक्षण गर्दा २५५ जनामा सिकलसेलका लक्षण देखिएका थिए ।

थारु समुदायमा देखा परेको सिकलसेलको समयमै निदान गरी सन्तानमा रोग नसरोस भनेर रगत परीक्षणको अभियान चालाइएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बिष्टले बताए । उनले प्रदेश सरकारको सहयोगमा गत वर्ष र यो वर्ष वडा तहमै गएर सिकलसेल परीक्षण गरिएको बताएका छन् । कृष्णपुर नगरपालिकाले नियमित कार्यक्रम अन्तर्गत निःशुल्क सिकलसेल परीक्षण शिविर राख्दै आएको बताउदै उनले थारु समुदायमा सिकलसेलको पहिचान गरी नियन्त्रणका उपाय पनाउन परीक्षण अभियान चलाइएको बताए ।

यस्तै नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगर क्षेत्रमा कुल जनसंख्याको ३७ प्रतिशत थारु समुदाय रहेको उल्लेख गर्दै थारु समुदायको वंश सुरक्षाका लागि सिकलसेल र थालेसिमिया रोगको परीक्षण र उपचारलाई प्राथमिकतामा राखिएको उनले बताए । उनले बिरामीका लागि नगरपालिकाले निःशुल्क रगतको समेत व्यवस्था गरेको बताएका छन् ।

नगर उपप्रमुख द्रोपती रानाले यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित हुने भएकाले समयमै परीक्षण गरी आउने पुस्तालाई सुरक्षीत राख्न निःशुल्क सिकलसेल र थालेसिमिया परीक्षण शिविर राखिएको बताइन् । उनले थारु समुदायको नयाँ पुस्तालाई सिकलसेलबाट बचाउन गाउँमै पुगेर परीक्षण गर्न थालिएको बताएकी छन्। व्यक्तिमा राता रक्त कोष निर्माण हुन नसक्ने अवस्था नै सिकलसेल र थालेसिमिया हो । राना थारु र चौधरी समुदायमा यो रोगको प्रकोप देखिएको छ ।

Loading...