कैलालीको खुटिया नदिमा एमालेको अनुगमन

अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीका पदाधिकारीले वडा नम्बर ८ र ९ मा पर्ने खुटिया नदीको अनुगमन गरेका छन् ।

खुटिया नदीमा मापदण्ड विपरीत उत्खनन् भईरहेको स्थानीयले गुनासो गरेपछि नगर कमिटिका अध्यक्ष सन्तोष सिंह नेतृत्वको टोलीले नदीको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा खुटियाबाट जथाभावि ढंगले नदीजन्य पर्दाथ उत्खनन् भईरहेको अध्यक्ष सिंहले बताए ।

उनले वातावरणीय प्रभाव मुंल्याकन (इआइए) गरिएको ठाँउभन्दा वरैबाट उत्खनन् भईरहेको र अनुमति लिएभन्दा बढी गहिराईसम्म उत्खनन् पाइएको भन्दै मापदण्ड विपरीत उत्खनन् नगर्न गोदावरी नगरपालिका र ठेकेदारलाई खबरदारी गरिएको बताए ।

मापदण्ड विपरीतको दोहनले नदी नजिकका बस्ती,पुल र वन क्षेत्र लगायतका संरचना नै जोखिममा परेको उनको आरोप छ । उनले नदीबाट उठेको राजश्व कानुन बमोजिम खुटिया प्रभावित क्षेत्रका लागि छुट्याउन माग गरे ।

नगर सचिव विक्रम विष्टले इआइए गरेको ठाउँभन्दा बाहिर गएर उत्खनन् भईरहेको आरोप लगाए ।

उनले वडा नम्बर ८ र ९ लाई डुबान र कटानबाट जोगाउन नगरपालिका गम्भीर हुनुपर्ने बताए । ग्वासी समैजी वन उपभोक्ता समितिकी उपाध्यक्ष जमुना देवी खड्काले नदी कटानले आफुहरु वर्षायाममा सुत्न समेत नपाउने बताईन् ।

उनले नदी कटान बढ्दै गएर घरमा पानी पस्दा आफुहरुको ग्यास चुलो र साग तरकारी समेत बगाउने गरेको भन्दै उनले नदी कटान नियन्त्रण गर्न र नदीबाट उठेको राजश्व कानुन बमोजिम प्रभावित क्षेत्रमै लगानी गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरिन् ।

खुटिया नदिमा हरेक बर्ष दोहन हुने गरेपनि त्यसको संरक्षणमा भने नगरपालिकाले ध्यान दिन नसकेको स्थानीय को आरोप छ ।

खुटिया नदीमा नदिजन्य पदार्थ उत्खनन को लागि गोदावरी नगरपालिकाले ५ करोड ८६ लाख ६० हजार ६७८ रुपैँयामा बालाजी कन्ट्रक्सनलाई ठेक्का दिएको छ ।

Deep Jyoti Pustak psl
Loading...