अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडको नवौँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष विक्रम विश्वकर्माको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सांसद खेमा देबि बिष्ट रहेकी थिइन भने विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंक सुदूरपश्चिम प्रमुख दिनेश गेलाल र गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।
कार्यक्रममा संस्थाको संचालक समितिका तर्फबाट अध्यक्ष बिक्रम बिकले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिती संयोजक नन्द राज भट्टले प्रस्तुत गरेका थिए । यस्तै संस्थाको प्रगती तथा आगामी आर्थिक वर्ष २०८१\०८२ को अनुमानित बजेटसम्बन्धी प्रतिवेदन संस्थाकी प्रवन्धक प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्टहरुलाई पनि सम्मानित गरिएको थियो । संस्थाका सल्लाहकार समिती संयोजक हरिकृष्ण पान्डेयले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन संस्थापक उपाध्यक्ष शिवराज रेगमीले गरेका थिए । साधारण सभामा संस्थाका शेयरसदस्यका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
संस्थाको कारोबार ७ करोड बढी
अत्तरिया कृषि सहकारी संस्था लिमिटेडले ७ करोड बढीको कारोबार गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०\०८१ मा ७ करोड १७ लाख ७९१ रुपैयाको आर्थिक कारोबार गरेको हो । उक्त कारोबारबाट संस्थाले १७ लाख ६९ हजार ९२५ रुपैया नाफा कमाएको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारण सभामा प्रस्तुत भएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले सो आर्थिक वर्षमा ८८ लाख ७२ हजार ८०० रुपैया शेयरपुँजी पु¥याएको छ । उक्त अवधीसम्म संस्थामा ८७४ जना शेयरसदस्य रहेका छन । २०७३ साल पौषमा ३३ जना शेयरसदस्यहरुको ५ लाख ४० हजार शेयरपुँजीबाट सुरु भएको संस्थाले आफ्नो शेयरपुँजी र सदस्यसंख्यामा उल्लेख्य वृद्धि गरेको छ । संस्थाले उक्त आर्थिक वर्षमा ३ करोड ६३ लाख ३९ हजार २०७ रुपैया निक्षेप संकलन गरेको छ ।
यस्तै संस्थाले भविष्यमा कर्जामा आउन सक्ने सम्भावित समस्याहरुबाट बच्न कर्जा नोक्सानी कोषमा ११ लाख ३८ हजार ७३८ रुपैया छुट्याएको छ । संस्थाले २८८ जना शेयरसदस्यलाई कर्जा लगानी गरेको संस्थाकी प्रबन्धक सक्रान्ती भट्टले बताईन । उनका अनुसार संस्थाले एक आर्थिक वर्षमा मात्रै २८८ जनालाई कर्जा लगानी गरेको हो ।
सहकारीले ३ जना शेयरसदस्यहरुलाई सुत्केरी प्रोत्साहन भत्तावाफत रु. १ हजारका दरले तथा मृत्यु भएका शेयरसदस्यको परिवारलाई किरिया खर्चवाफत रु. ५ हजार रुपैया भुक्तानी गर्ने गरेको भट्टले बताईन । उनका अनुसार सहकारीले ‘उत्कृष्ट शैक्षिक पुरस्कार’ अन्तरगत सो आर्थिक वर्षमा पनि संस्थाका शेयरसदस्यका छोराछोरिहरुमध्येबाट एसइइ र +२ मा उत्कृष्ट नतिजा ल्याउने दुई जनालाई पुरस्कृत गरेको छ । उनिहरुलाई सम्मान पत्र सहित नगद रु. २ हजार ५०० का दरले पुरस्कृत गरिएको भट्टको भनाई छ ।

