कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि मकर मेलाको तयारी पुरा, नगरपालिकाले निःशुल्क बस सञ्चालन गर्ने

अत्तरिया : कैलालीको गोदावरी धाममा लाग्ने बाह्र राशि मकर मेलाको तयारी पुरा भएको छ । विगतका बर्सहरू जस्तै यस वर्ष पनि पुस २९ गतेदेखि बाह्रराशी दर्शन मकर मेला लाग्ने भएको हो ।

मेलाका अवसरमा बाह्रराशी नवग्रह, सत्ताइस नक्षत्रको स्थापना तथा लक्ष्य हवन, विभिन्न पुराणहरू प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ । गोदावरी विकास धाम समितिका अध्यक्ष पदम राज जोशीले २०७२ सालमा महाकुम्भ मेला लागेपछि त्यसयता प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेलाको हुँदै आएको बताए । मकर मेलाको पुस २९ गते (सोमबार) दिउँसो १ बजे समुद्घाटन गरिने उनले बताए ।

मेलाको लागि गोदावरी नगरपालिका संरक्षकको भूमिकामा रहेको र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसस्था, सामाजिक व्यक्तित्वहरुको सहयोग गरेको उनले बताए । उनले २०८४ सालमा आयोजना हुन गइरहेको महाकुम्भ मेलाको प्रस्थान बिन्दुको शुभारम्भ पनि यसै वर्षबाट गर्न लागिएको बताए । उनले गोदावरीमा आउने प्रत्येक श्रद्धालुलाई सङ्कल्पकर्ताको रूपमा लिएर उनीहरूको सङ्कल्पबाटै २०८४ को महाकुम्भको आयोजना गर्ने तयारी गरिरहेको बताए । उनले मेलाको कुम्भ बाटिकामा दीप प्रज्वलन गरिने बताए । मेला माघ १२ गते सम्म सञ्चालन हुने छ ।

यस्तै बाह्र राशि मकर मेलाको अवसरमा माघ १ गते गोदावरी नगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । नगरप्रमुख वीरेन्द्र भट्टले मेलालाई मध्यनजर गरी ५ वटा बस निःशुल्क उपलब्ध गराइने बताए । उनले गोदावरीको गेटा, मालाखेती र स्याउलेबाट एक/एक र अत्तरियाबाट २ वटा बस निःशुल्क रूपमा गोदावरी जानका लागि उपलब्ध गराउने गरी व्यवस्थापन गरिने बताए ।

उनले बाह्र राशि मकर मेलाका लागि पनि तयारी भइरहेको बताएका छन् । उनले स्नान कुण्डको तयारी देखि बाटो निर्माणको काम भइरहेको बताउदै एम्बुलेन्स र स्वास्थ्य शिविरको पनि आयोजना गरिएको बताए । मेलाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

Loading...