पूर्वमन्त्री सुवेदीका बुवाछोरालाई एमालेबाट निष्कासन गर्न सिफारिस

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न एमालेले सिफारिस गरेको छ । शनिबार बसेको नेकपा एमाले कैलालीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको बताए । भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको बताए ।

एमाले कैलालीले पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बुवाछोरा हुन् । उनीहरू एमालेमा भीम रावल निकट मानिँदै आएका थिए । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् ।

Dhn_Tihar & Chhat 2082
Loading...