दुर्गालक्ष्मी नमुना माविमा आधुनिक कम्प्युटर ल्याब स्थापना

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ मा रहेको दुर्गालक्ष्मी नमुना माविमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । विद्यालयमा कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई लक्षित गरेर ५५ वटा कम्प्युटर सहितको ल्याब स्थापना गरिएको हो ।

ल्याबको आइतबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । ल्याबको उद्घाटन गर्दै उनले दुर्गालक्ष्मी नमुना मावि गोदावरीकै गौरव भएको बताए । उनले प्राविधिक शिक्षाको विकासका लागि ल्याबले महतपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालयमा भएको शिक्षकको अभावलाई आगामी शैक्षिक सत्रमा परिपूर्ति गरिने बताए ।

‘समायोजनको बेला यहाँबाट थुप्रै शिक्षक अन्यत्र गए भन्ने कुरा मैले अहिले थाहा पाए। समायोजन गर्दा यही विद्यालयका प्रधानाध्यापक (शिवराज जोशी) समितिको सदस्य हुनुहुन्थ्यो’ उनले भने ‘समितिमा मैले गोदावरीको एक मात्रै नमुना माविको पठनपाठनमा अप्ठ्यारो नहुने गरी व्यवस्था गर्न भनेको थिए । तर, अहिले यहाँ कम भएको सुन्नमा आयो । अब लगतै हुँदैन । नयाँ शैक्षिक सत्रदेखि शिक्षक पूर्ति गर्न लाग्ने छौ ।’ उनले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले ३ हजार ५ सय बढी विद्यार्थी भएको विद्यालयमा कम्प्युटर पढ्ने विद्यार्थी बढ्दै गएकाले ल्याब स्थापना गरिएको बताए । उनले कम्प्युटर इन्जिनियर पढाई गर्ने विद्यार्थीलाई लक्षित गरी कम्प्युटर ल्याब स्थापना गरिएको बताए ।

विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले विद्यालयमा हाल प्राविधिक धार तर्फ कक्षा ८ देखि १२ कम्प्युटर इन्जिनियरिङ र कक्षा ११ र १२ मा कम्प्युटर साइन्स पढाई हुने गरेको बताए । उनले हाल विद्यालयमा ३ वटा कम्प्युटर ल्याब रहेको बताउँदै जसमा १२५ कम्प्युटर रहेको बताए । हाल ५५ थान कम्प्युटर रहेको अत्याधुनिक ल्याब कम्प्युटर इन्जिनियरिङका विद्यार्थीलाई लक्षित गरेर स्थापना गरिएको बताए ।

उनले कम्प्युटर इन्जिनियरीङका विद्यार्थीले नेपाल सरकारबाट पाउने वार्षिक प्रति विद्यार्थी १५ हजार रकमबाट ल्याब स्थापना गरिएको बताए । ‘कक्षा ९– १२ का विद्यार्थीलाई मध्यनजर गरेर नेपाल सरकारले प्रति विद्यार्थी १५ हजार वार्षिक रूपमा प्राप्त हुने गर्दछ’ उनले भने ‘जुन रकम हामीले ल्याब हेर्ने शिक्षकको तलब, ओजेटी खर्च कटाएर बाकी रकमबाट ल्याब स्थापना लगायतका काम गर्ने गरेका छौ ।’ उनले कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङमा मात्रै १३६ जना विद्यार्थी अध्ययनरत रहेको बताए ।

Deep Jyoti Pustak psl
Loading...