धनगढी : धनगढी उपमहानगरपालिकाले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट हेर्न जाने दर्शकका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गर्ने भएको छ । आउँदो शनिवारदेखि २८ गतेसम्म हुने प्रतियोगिताका लागि धनगढी उपमहानगरले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्मै बस सेवा सञ्चालन गर्ने भएको हो ।
धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पस चोकबाट नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा नगर बसले फाप्लासम्म सेवा दिने छ । २० मिनेटको अन्तरमा नगर बसले सेवा दिने सम्झौता भएको छ । खेल हेर्न जानका लागि नगर बसको सेवा पाउने भएपछि क्रिकेट समर्थक खुशी भएका छन् ।
गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिताका लागि भीआईपीतर्फ २ सय र साधारणतर्फ १ सय रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगिताका सबै खेल एक्सन स्पोट्र्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।
टी-२० फर्म्याटमा हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
