अछाम : अछामको ढकारी गाउँपालिका-८ मा मृत फेला परेकी दुई किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । प्रहरीले ढकारीकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्काको सोही गाउँपालिका-३ का दुईजना किशोरले यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरेको जनाएको छ ।
माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा उनीहरु मृत फेला परेका थिए । मृतकका परिवारले दिएको किटानी जाहेरकी आधारमा पक्राउ परेका १७ र १५ वर्षका दुईजना किशोरले उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीले पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।पक्राउ परेका दुबै जनाले प्रहरीसंगको बयानमा यौन प्रस्ताव अस्वीकार गरेपछि दुबै किशोरीको हत्या गरेको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामले आज (शनिवार) पत्रकार सम्मेलन गरी दुई किशोरीको हत्या प्रकरणका बारेमा जानकारी गराएको हो ।
घट्नाको अनुसन्धानका क्रममा प्रहरीले मृतक किशोरीहरुको मोवाईल कल डिटेलका आधारमा दुबै किशोरलाई अनुसन्धानको दायरामा ल्याएको थियो । दुबै किशोरीहरु मृत फेला परेको जंगलमा दुबै किशोरहरु देखिएका थिए । अनुसन्धानका क्रममा किशोरीहरुसंग सम्पर्क भएपछि उनीहरु जंगलमा गएको खुलेको छ । उनीहरु प्रेमी-प्रेमिका अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
यसरी घटेको थियो घटना : गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ ।
आज (शनिवार) पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले केही दिन पहिले पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेको बताएका छन् ।‘ किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने ।

उनका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको थियो । उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुगाइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन ।
शुक्रवार गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने तय भएकाे थियाे । इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवक बिच कुराकानी भइरहेको हुन्छ । उनीहरु बिच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेका हुन्छन् ।
यता इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले संवाद सुरु गर्छन् । ‘उनीहरु जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्छन् । विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् । तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने, ‘पहिले प्रेस र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशका आएका युवकले नजिकै भएको ढुङ्गाले हानेर सरस्वतीले हत्या गरिएको हो । ’
प्रहरीका अनुसार ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन् । युवकले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन् ।
‘घटना बाहिर आउने डरले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाउँछन् । इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरियो, लडेपछि फेरी अगाडीबाट डुङ्गाले हानेर मारिएको देखिन्छ,घट्नाका बारेमा कसैलाई शंका नहोस भनेर उनीहरुले दुई किशोरको शव व्यवस्थापन गर्छन ।’ प्रहरीले पत्रकार सम्मेलनमा प्रष्ट पारेको थियो । थियो ।
गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुङ्गा खसालेको पाइएको छ ।
प्रहरी घट्नास्थलको प्रकृति, लाशको मुचुल्का, किशोरीहरुको कल डिटेल, मृतकका परिवारको किटानी जाहेरीका आधारमा पक्राउ परेका किशोरहरुले दिएको बयानका आधारमा उनीहरुको हत्यामा संलग्न भएको निष्कर्षमा पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो ।