डोटी : डोटीको बोगटान-फुड्सिल गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। गाउँपालिका-७ चवराचौतारामा रहेको ट्रान्सफर्मरमा मङ्गलवार बिजुली बालिएको हो ।
नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र दीपायलको ११ केभी प्रसारण लाइनको विद्युत् चवराचौतारामा रहेको ट्रान्सफर्मरमा पुगेको छ । गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले स्विच बालेर विद्यु्त्को उद्घाटन गरेका छन। नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्रका उत्तम धामीको उपस्थिति कार्यक्रमको आयोजना गरिएको हो ।
गड्सिलाले पालिकाका ७ वटै वडामा विद्युत् विस्तार गर्ने गरी काम भइरहेको बताएका छन् । विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण र समन्वय गरिरहेको उनले बताए । अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने उनले बताए । ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म पालिकाभर विद्युत् विस्तार हुने उनको दाबी छ ।
हाल बोगटान फुड्सिल गाउँपालिका-६ गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ । गाउँपालिकाका ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सोलार विद्युत्को पहुँच रहेको छ ।
