डोटीको बडीकेदार गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्मल र टर्च लाइट वितरण गर्दै

डोटी : डोटीको बडीकेदार गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण कार्य शुरु गरेको छ । आज (बुधवार) एक औपचारिक कार्यक्रमको आयोजना गरी वडा नम्बर १ मा रहेका ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालय रिसेडिमा कम्मल र टर्च लाइट वितरण गरेको हो ।

पालिकाले वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम पालिकाका सबै वडाहरूमा सञ्चालन गरिने जनाईएको छ । वडा नम्बर १ मा १३ जना ज्येष्ठ नागरिकलाई कम्मल र टर्च लाइट वितरण गरी सम्मान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष डबल बोहराले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले चिसोको समयमा वृद्ध आमाबुवाहरूलाई न्यानो हुन राहत पुग्नुका साथै रातीको समयमा बाहिर भित्र गर्न सहजता होस भन्ने उद्देश्यले वडा अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरेको बताइन् । पालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायत विभिन्न सम्मानका कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको उनले बताइन् । वडा अन्तरगत धेरै ज्येष्ठ नागरिकहरू रहेका भए पनि सबैलाई बिभिन्न कार्यक्रममा समावेश गरिने बताइन् ।

ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु हामी सबैको दायित्व रहेको वडा अध्यक्ष बोहराले बताए । उनले ज्येष्ठ नागरिकहरूलाई नेपाल सरकार र पालिकाले दिने गरेको विभिन्न सेवासुविधाहरू आफ्नो स्वास्थ्यको लागि प्रयोग गर्न आवश्यक रहेको समेत बताए ।

पालिकाले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको कार्य प्रशंसायोग्य रहेको जिल्ला समन्वय समिति डोटीका सदस्य ठक्कर बोहराले बताए । आगामी दिनमा पालिकाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति डोटीका सदस्य, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

Loading...