अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलाडीहरुलाई सम्मान गरेको छ । धनगढीमा आयोजना गरिएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलाडीहरुलाई नगरपालिकाले मंगलबार सम्मान गरेको हो ।
नगरपालिकाको कार्यालयमा नगरप्रमुख विरेन्द्र भट्टले खेलाडीहरु, टिम कोच, व्यवस्थापक लगायतलाई टीका खादाका साथ मायाको चिनोले सम्मान गरेका थिए ।
सम्मान पश्चात बोल्दै उनले राष्ट्रिय प्रतियोगिताको विजेता बनेर आएको सिवाइसी अत्तरियाले नगरपालिकाको नाम अघि बढाउन सहयोग गरेको बताए । उनले नगरपालिका नगरका सबै वडाहरुमा खेलमैत्री वातावरण बन्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढीरहेको बताए ।
खेलकुदलाई नगरले प्राथमिकताका साथ राखेको बताउदै नगर प्रमुख भट्टले पछिल्लो समय गोदावरीमा पनि क्रिकेटको राम्रो क्रेज रहेको बताए । उनले गोदावरीमा खेलकुदका लागि नगरस्तरिय मात्रै नभई प्रदेशस्तरिय नै खेलमैदान बन्ने स्थानको सर्वेक्षण गरिएको बताएका छन् । तत्काल नभएपनि आगामी केही वर्ष भित्रै राम्रो खेलमैदान गोदावरीमा निर्माण हुने समेत नगरप्रमुख भट्टले बताए ।
