धनगढी : कैलाली कारागारबाट फरार भएका गोदावरी नगरपालिका-११ का ४८ वर्षीय देवसिंह ठकुरी भनिने दीपकबहादुर सिंह १२ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ठकुरी आज (बुधबार) बिहान कञ्चनपुरको गड्डाचौकी क्षेत्रबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले कैलाली प्रहरीको पाँच सदस्यीय टोलीले ठकुरीलाई पक्राउ गरेर ल्याएको जानकारी दिए ।
‘कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि कैद भुक्तान गरिरहेको समयमा २०६९ साल असोज २२ गते ठकुरी कैलाली कारागारबाट फरार भएका थिए,’ एसपी बिष्टले भने, ‘उनी भारतमा लुकेर बस्दै आएको अवस्थामा २०८० मंसिरमा भारतीय प्रहरीले पक्राउ गरेको थियो । त्यहाँबाट धरौटीमा रिहा भएको खबर पाएपछि हामीले गड्डाचौकी टोली पठाएका थियौं ।’
२०८० मंसिरमा ठकुरी बैंक लुटपाट तथा सुनचाँदी पसल लुटपाट गरेको घटनामा भारतको मुम्बइमा पक्राउ परेका थिए । ठकुरीले २०६२ असोज २ गते गोदावरीकै मानबहादुर सुनारको हत्या गरेको अभियोग छ । उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल फिर्ता भएर पेस हुन बाँकी रहेको एसपी बिष्टले बताए ।
यस्तै २०६४ साल फागुन २४ गते गोदावरीकै भक्तबहादुर भनिने बमबहादुर साउँदलाई ठकुरीले गोली प्रहार गरी हत्या गरेको मुद्दामा भने फैसला भइसकेको छ। सोही मुद्धामा जिल्ला अदालत कैलालीको फैसलाले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
ठकुरी पहिलोपटक २०६६ असार १० गते हातहतियार सहित पक्राउ परेका थिए । सोही कारण उनीविरुद्ध हाततियार तथा खरखजना मुद्धा पनि छ । उनीवरुद्ध अपहरण गरी शरीर बन्धन गराएको मुद्धा पनि छ । २०६५ असार १० गते धनगढी उपमहानरपालिकाको फुलवारीका शोभान टमटाको अपहरण गरेको अभियोग ठकुरीमाथि लागेको थियो ।
एसपी बिष्टले ठकुरीविरुद्ध थप एक मुद्दा आकर्षित भएको बताए । कारागारबाट भागी फरार भएको मुद्दा पनि ठकुरीमाथि लाग्ने एसपी बिष्टको भनाइ छ ।
हेर्नुहाेस् सिंहबारेकाे विस्तृत प्रहरीकाे विज्ञप्ति
*** सर्वस्व सहित जन्म कैद मुद्दामा जेलबाट फरार प्रतिवादी १२ बर्ष पछि पक्राउ***
जि.प्र.का. कैलाली माघ ३० गते,
जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं.०७ बस्ने जनक बहादुर साउदको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह भएको जाहेरवालाको भतिजा भक्त बहादुर भन्ने बम बहादुर साउदलाई मिति २०६४।११।२४ गते रातीको समयमा गोली प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा वारदात मितिबाट भागी फरार रहेका देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह मिति २०६६।०३।१० गते प्र.नि. धन बहादुर कठायतको जाहेरीले वादी नेपाल सरकार भएको हातहतियार खरखजना मुद्दामा पक्राउ परे पश्चात सो मुद्दामा निजलाई कारागार चलान गरी १ बर्ष कैद सजाय भुक्तान गरिरहेकै अवस्थामा जनक बहादुर साउदको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह भएको कर्तव्य ज्यान मुद्दामा समेत निजलाई सम्मानित कैलाली जिल्ला अदालतबाट मिति २०६७।०८।२७ गतेको फैसलाले मिति २०६६।०३।११ गते देखी लागु हुने गरी सर्वस्व सहित जन्म कैद सजाय भई सो सजाय भुक्तान गरिरहेको अवस्थामा मिति २०६९।०४।२२ गते कैलाली कारागारबाट भागि फारार रहेका जिल्ला कैलाली साविक गोदावरी गा.वि.स. ०५ हाल गोदावरी नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४८ को देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई खोजतलास गर्दै जादा नेपाल भारत सिमाना स्थित जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा न. १० गड्डाचौकीको एरीयामा रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्द समेतको ५ जनाको प्रहरी टोलिले आज मिति २०८१।१०।३० गते अन्दाजी ०५:०० बजेको समयमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई राखिएको ।
देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह उपर दायर भएका मुद्दाहरुः-
१. जिल्ला कैलाली गोदावरी गा.वि.स. ०६ बस्ने कृत सुनारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह, तेज बहादुर बडैला र मोहन सिंह बडैला भएको वारदात मिति २०६२।०६।०२ गते जाहेरवालाको छोरा मान बहादुर सुनारलाई कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दा- आ.व.२०६२।०६३ साल, मुद्दा नं. ३० (जि.स.व.का. बाट मिसिल फिर्ता भई पेश हुन बांकी)
२. जिल्ला कैलाली गोदावरी ७ बस्ने जनक बहादुर साउँदको जाहेरीले वादी नेपाल सरकार भएको वारदात मिति २०६४।११।२४ गते राती जाहेर वालाको भतिजा मृतक भक्त बहादुर भन्ने बम बहादुर साउदलाई गोली प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई मिति २०६७।०८।२७ गतेको फैसलाले मिति २०६६।०३।११ गते देखी लागु हुने गरी सर्वस्व सहित जन्मकैद फैसला भई कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कैलालीबाट फरार । (आ.व. २०६४।०६५ साल, मुद्दा नं. १८२) ।
३. जिल्ला कैलाली धनगढी १ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले मिति २०६५।०३।१० गते, अपहरण गरी शरिर बन्धक बनाएको अपहरण तथा शरिर बन्धक मुद्दा- आ.व.२०६५/०६६ साल मुद्दा नं. ३५०
४. प्र.नि. धन बहादुर कठायतको जाहेरीले मिति २०६६।०३।१० गते हातहतियार खरखजनामा पक्राउ परी मिति २०६६।०४।०५ गते अनुसन्धान पश्चात कारागार चलान भएकोमा १ बर्ष कैद सजाय फैसला । (आ.व.२०६५/०६६ साल मुद्दा नं. ३४९)
५. मिति २०६९।०४।२२ गते निज प्रतिबादी देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह कैलाली कारागारबाट भागी फरार भएको कैदी भागे भगाएको मुद्दामा देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह, प्र.ना.नि. लोक बहादुर बोहरा, प्र.ह. गणेश चन्द र प्र.ज. दिल बहादुर टमटा उपर मुद्दा दायर भई सम्मानित कैलाली जिल्ला अदालतमा मुल्तबीमा रहेको ।
