डोटीको आदर्शका मोहन थापा कलेजो,फोक्सो,मृगौला र नाकको बिरामी एकैसाथ झेल्दै, आर्थिक अभावमा उपचारमा समस्या

डोटी : डोटीको आदर्श गाउँपालिका ५ लामिखाल, ओसायलका युवा मोहन थापाले एकैसाथ कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी झेल्नुपरेको छ । बाल्यकालदेखि नै निमोनिया बिग्रेर स्वास्थ्य समस्या झेल्दै आएका थापा पछिल्लो करिब डेढ वर्षदेखि निरन्तर औषधी उपचार गर्दागर्दै आर्थिक अभाव समेत झेलिरहेका छन् । जसका कारण उनलाई उपचारमा समस्या आएपछि आफ्नो ज्यान बचाउन सहयोगका लागि याचना समेत गरेका छन् ।

विभिन्न अस्पताल चाहार्दाचाहार्दै हाल भारतको तामिलनाडु राज्यको चेन्नैस्थित जेभि हस्पिटल, बि.के.इएनटी केअर र मद्रास पोलिक्लिनिक गरी तीन वटा हस्पिटलमा एकैसाथ उपचार गराईरहेका छन् । चिकित्सकका अनुसार कलेजो ५० प्रतिशत ड्यामेज भएको, फोक्सोको एउटा नली ब्लक भएको, मृगौला सुन्निने र नाकको भित्री भागमा मासु पलाएर श्वासप्रसासमै समस्या भैरहेको उनले बताए ।

उनले भने-‘मलाई सानै उमेरमा निमोनियाको समस्या थियो । नाकमा मासु पलाएर पहिले पनि अप्रेशन गराएको थिएँ । अहिले कलेजो, फोक्सो, मृगौला र नाकमा एकैसाथ समस्या झेलिरहेको छु ।’ वि.सं.२०६६ सालमा भारतकै केरलास्थित उमलसेरी शान्ति अस्पतालमा उनले नाक र घाँटीको बिच भागमा मासु पलाउने समस्याको अप्रेशन गराएका थिए । सोही समयदेखि उनको छाती दुख्ने र खोकी लाग्ने समस्या देखा परेको थियो । जुन समस्याको सामान्यतया औषधी उपचार गर्दै आएको उनले सुनाए ।

त्यसबिचमा उनले २०७६ सालमा भारतको केरलास्थित एनएमसी अस्तपालमा उपचार गराएपछि केहि सञ्चो भएको महशुस गरेका थापा कोरोना कालमा गाउँमै बस्ने र स्थानीय विद्यालयमा करार सेवामा शिक्षण गर्दै आएका थिए । त्यसैबेला देखि फेरि छाती दुख्न शुरु भएसँगै उनले बाँकेको कोहलपुर मेडिकल कलेज, धनगढीको माया मेट्रो हस्पिटल लगाएतमा चेकजाँच तथा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि उनी उपचार गर्न भारत गएका हुन् ।

गत बैशाख महिनाबाट बेहोस हुने, ढल्ने लगाएतका गम्भीर स्वास्थ्य समस्याको उपचार गराउँदा गराउँदै दश लाख बढी खर्च भैसकेको उनले पीडा पोखेका छन् ।
अहिले तीन वटा हस्पिटलमा हप्ता/हप्ता दिनमा चेकजाँच तथा औषधी गरी हप्ताको दश हजार जति खर्च भैरहेको उनले सुनाए । उनले भने-‘औषधी मात्रै करिब ६ हजार भारु रुपैयाँ बराबरको किन्नुपर्छ । अरु रगत जाँच, एक्सरे आदी गरेर हप्ताको दश हजार रुपैंया खर्च हुन्छ । आर्थिक अभावले उपचार नपाएर अब म बाँच्न सक्दैन कि भन्ने लागिसकेको छ ।’

डाक्टरको भनाई अनुसार कलेजो ५० प्रतिशत जति ड्यामेज भएकाले सकभर औषधीबाट र नभए अप्रेशन गरेर बचाउन सकिने देखिएको उनले बताए । कलेजोको उपचारपश्चात मात्रै नाकको मासु पलाएको अप्रेशन गर्न मिल्ने डाक्टरले बताएको उनी सुनाउँछन् ।

२०६६ सालमा नाकको अप्रेशन गर्दा बेहोस पार्ने औषधीले फोक्सोमा असर पारेको डाक्टरको भनाई रहेको उनी बताउँछन् । नाककै समस्याका कारण फोक्सोमा समस्या भैरहेको, कलेजोको समस्याका कारण मृगौला सुन्निने गरेको उनको भनाई छ । आगामी उपचारका लागि करिब ४ लाख भारतीय रकम खर्च आवश्यक हुने डाक्टरले बताएको उनले सुनाए ।

कमजोर घरायसी अवस्थाका कारण आर्थिक अभावमा अब औषधी पनि कसरी किन्ने भन्ने चिन्तामा छन् उनि । बिरामीकै कारण मानसिक रुपमा समेत समस्या देखिसकेका थापाले आफ्नो प्राण रक्षाका लागि आर्थिक सहयोगको सबैमा अपील गरेका छन् । जसका लागि उनकी श्रीमती राधा बोहराको नाममा डोटीको दिपायलस्थित एनएमबी बैंकमा रहेको खाता नं. ०१५००४८२१०५०००११ मा सक्दो सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेका छन् ।

उनका बृद्ध बुबा–आमा, श्रीमती र ४ वर्षका एक छोरा छन् ।

उनलाई आर्थिक सहयोग गर्न तल राखिएको उनकी श्रीमतीको र्बैक खाताको क्यूआर पनि प्रयोग गर्न सकिनेछ ।

Dhangadhi 2081
Loading...