धनगढी : कैलालीबाट सशस्त्र प्रहरीले दश करोड ८७ लाख बढीको तस्करीको सामान जफत गरेको छ । गत वर्षको फागुन १ गतेदेखि २०८१ को माघ मसान्तसम्म १० करोड ८७ लाख ८३ हजार पाँच सय ५३ रुपैयाँको तस्करीको सामान सशस्त्र प्रहरीले बरामद गरिएको हो ।
सशस्त्र प्रहरी, कैलालीले पछिल्ला २ आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढी रकमको तस्करीको सामान जफत गरेको छ । सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा आर्थिक वर्ष २०७८/०७९ मा तीन करोड ७० लाख २९ हजार एक सय ३८, २०७९/०८० मा चार करोड १६ लाख ९१ हजार ६ सय ६३ र चालु आर्थिक वर्ष २०८०/०८१ मा १० करोड ८७ लाख ८३ हजार पाँच सय ५३ रुपैयाँ अवैध भन्सार छलीको सामान जफत गरिएको हो ।
सशस्त्र प्रहरीले चैत, कात्तिक, मङ्सिर र पुस महिनामा एक करोड बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।
गत फागुनमा ३१ लाख ३८ हजार ६२, चैतमा एक करोड ६ लाख ७३ हजार एक सय ७१, वैशाखमा ४५ लाख ७९ हजार नौ सय २३, जेठमा ७४ लाख ६१ हजार सात सय २४, असारमा ९२ लाख १७ हजार २ सय ५२, श्रावणमा ८९ लाख ९० हजार ६ सय ७०, भदौमा ८८ लाख ८८ हजार ७३, असोजमा ६४ लाख ९८ हजार तीन सय २७, कात्तिकमा एक करोड ५१ लाख ५५ हजार ६ सय ३४ रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ ।
यस्तै, मङ्सिर महिनामा एक करोड ६७ लाख सात सय ३१, पुस महिनामा एक करोड ६ लाख ६४ हजार एक सय ७३ र माघ महिनामा ६८ लाख १५ हजार आठ सय १३ रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ ।
कैलालीमा नेपाल-भारत सीमा क्षेत्र एक सय एक किलोमिटरसम्म छ । नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको हो । सीमा अतिक्रमण रोक्न, अवैध ढंगले नेपाल-भारत प्रवेश गर्न नदिन, अवैध क्रियाकलाप नियन्त्रण गर्न, चोरी निकासी बन्द गर्न तथा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी) हरु स्थापना गरेर काम गर्दै आएको छ । सशस्त्र प्रहरीको नम्बर ३४ गणका प्रमुख एसपी दलबहादुर पाण्डेले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको बताए । कैलालीको फूलबारी, भजनी र खक्रौला, भुइँयाफाँटा, बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर, श्रीलंकाटापुमा लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको छ ।