अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निःशूल्क धारा जडान गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले धारा जडानको कार्य निःशूल्क गर्ने निर्णय गरेको हो ।
समितिका सचिव उत्तम महराले यसअघि धारा जडानका लागि शुल्क लिदै आएकोमा मंगलबार देखी लागु हुने गरी निःशूल्क जडान गर्ने निर्णय गरेको जानकारी दिए । उनले यसअघि धारा जडानका लागि चार सय लिने गरिएकोमा समितिले सो शूल्क अबदेखी नलिने निर्णय गरेको बताए ।
यस्तै समितिले खानेपानीको मासिक युनिट पनि बढाउने निर्णय गरेको छ । समितिका सचिव महराका अनुसार मासिक न्यूनतम रु. १५० मा ८ युनिट पानी वितरण गरिदै आएकोमा चैत १ गतेदेखी लागु हुने गरी सोही रकममा मासिक १२ युनिट पानी वितरण गर्ने निर्णय समितिले गरेको छ ।
समितिले उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सहुलियत रुपमा पानी वितरण गर्नका लागि उक्त निर्णयहरु गरेको उनले बताए । चैत १ गतेदेखी न्यूनतम मासिक शूल्क रु. १५० मै १२ युनिट खानेपानी उपभोक्तहरुले उपभोग गर्न पाउने समितिका सचिव महराको भनाई छ ।