धनगढी : कैलालीको बुढीतोलामा पाँच सय मिटर सडक मर्मत हुँदैछ । बर्सातको समयमा पहिरोले भत्काएको सडक मर्मत थालिएको हो । सडक डिभिजन कार्यालय, महेन्द्रनगरले सात करोड ३८ लाख ७९ हजार चार सय ६८ रुपैयाँको लागतमा सडक मर्मतका लागि ठेक्का सम्झौता गरेको थियो ।
महाकाली राजमार्गको बुढीतोला क्षेत्रमा २ महिना भित्रमा सडक मर्मतको काम पूरा हुने छ। हालसम्म तीन करोड बढीको काम निर्माण कम्पनीले गरेको छ । बुढीतोलामा जमिन मुनिबाट पानीको मूल रहेकाले नयाँ प्रविधि अनुसार काम हुँदैछ। राजमार्गको माथि तिर इनारहरु निर्माण गरिएका छन् । पाँच वटा इनारहरूमा जमिन मुनिको पानी जम्मा गरिने छ । पाँच वटा इनारहरू एक अर्काेसँग जोडिएका छन् ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईंले २ महिना भित्रमा सडक मर्मतको काम सकिने बताए । तर, चालु आर्थिक वर्षमा नै सडक कालोपत्रको योजना नरहेको उनले बताएका छन् । उनले भने, साढे सात करोड बढीको काम हो। तीन करोड बढी भुक्तानी भएको छ । मुख्य कामहरू भएका छन्। २ महिना भित्रमा काम पूरा हुन्छ । भूमिगत पानीका लागि नयाँ प्रविधि प्रयोग गरेका छौ ।’
१६-२० मिटर गहिरो पाँच वटा इनारहरू निर्माण गरिएका हुन । भूमिगत पानी सडकमा आउन नदिनका लागि इनार बनाइएको हो । सडकमाथिको पानी निसासका लागि २ सय वटा पाइप पनि जडान गरिएका छन । सडकको तलबाट नयाँ प्रविधिको पर्खालहरू निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ग्राभेल निर्माण सम्मको काम पूरा हुने छ । आगामी आर्थिक वर्षमा सडक कालोपत्रका लागि नया ठेक्का सम्झौता गरिने उनले बताए ।
महाकाली राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक हो । बुढीतोला क्षेत्रमा जमिन भास्सिएपछि तराइसँगको सडक सम्पर्क गत बर्सातमा टुटेको थियो । बर्सातको समयमा एक हप्ता बढी समयसम्म सडक बन्द भएको थियो। पहाडी जिल्लाका लागि वैकल्पिक सडकहरूको काम पनि निर्माण पूरा भएको छैन । दैजी-जोगबुढा सडक र धनगढी-दीपायल द्रुतमार्गलाई वैकल्पिक सडकका रूपमा हेरिएको छ । तर, निर्माणको गति न्यून छ ।