अत्तरिया : कैलालीको अत्तरियामा सीवाइसी स्पोर्ट लिग आयोजना गरिने भएको छ । अत्तरियाको न्यू सृर्जनसिल युवा क्लब (सीवाइसी) को आयोजनामा चौथो लिग अन्तर्गत यहि फागुन १९ गते देखि स्पोर्ट लिग आयोजना गर्न लागिएको हो ।
आज (सोमबार) अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरि स्पोर्ट लिग आयोजना गर्न लागिएको जानकारी दिएको छ । लिग अन्तरगत क्रिकेट, फुटबल र भलिबल खेल खेलाइने गरी क्लब भित्रकै ८ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष नर बहादुर राईले बताए । उनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने गरी गोदावरीका ८ पर्यटकिय क्षेत्रका नाम समेटिने टिम सहित टिम क्याप्टेन तयार गरिएको बताए ।
जसअन्तर्गत सीवाइसी गोदावरी धाम-नर बहादुर राई, सीवाइसी हाटखोली-गाँजरी-शर्मानन्द भट्ट, दोगडे-फुलबस्ती-पुर्णमान सिं खत्री, सीवाइसी बुढितोला जिरो पोइन्ट-तिर्थ राज ओझा, सीवाइसी लामिताल-राजकुमार गुरुङ्, सीवाइसी नायल ताल-दिपक कँडेल, सीवाइसी मछेली खोला- दिपक राई र सीवाइसी भल्का धाम-अनुप भण्डारी टिम क्याप्टेन र टिम रहेका छन् ।
प्रतियोगितामा हरेक उमेर समूहका खेलाडीले सहभागी हुन पाउने छन् । हरेक टिममा कम्तीमा ४ जना भेट्रान समूहको अनिवार्य गरिएको अध्यक्ष राईले बताए ।
चौथो संकरणको रूपमा केही खेल थप गरी लिगको आयोजना गरिएको क्लबका उपाध्यक्ष शर्मानन्द भट्टले बताए । उनले प्रतियोगितामा सबै उमेर समूहका खेलाडी संयुक्त रूपमा खेलाइने भएकाले अनुभव आदानप्रदानमा पनि सहयोग पुग्ने बताए । खेल संयोजक रजत शाहीले प्रतियोगिता सम्पन्न गर्नको लागि खेलाडीको नाम टुङ्गो लगाइसकेको बताउदै उनले क्लबमा आबद्ध भएका र गोदावरी क्षेत्रमा विभिन्न सामाजिक क्षेत्रमा जोडिएकाहरूलाई प्रतियोगितामा सहभागी गराइएको बताए ।
‘सीवाइसी वार्षिक खेलकुद उत्सव’ का रूपमा आयोजना गरिएको प्रतियोगितामा २ लाख पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ । १२ दिन सम्म सञ्चालन हुने प्रतियोगिता चैत १ गते सम्पन्न हुने भएको छ । खेलहरु गोदावरी(३ मा रहेको चौकिडाँडाँ सामुदायिक वनको खेलमैदानमा र आयोजक सीवाइसीको खेल मैदानमा खेलाईने भएका छन् ।
