बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशीलाई पहिलो पटक नागरिकता प्रदान गरिएको छ । जीवनभर कृषिमा सक्रिय र गाउँमा अग्रज किसानको रूपमा परिचित जोशीलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले शनिबार उनलाई नागरिकता प्रदान गरिन् ।
थलारा गाउँपालिका-७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मीएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताए । उनले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताए ।
जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका-५ का पदमराज जोशीसँग बिहे भएको थियो । बिहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजको मृत्यु भएपछि उनी एकल भएकी हुन् ।
