करारलाई स्थायी बनाउने कानुनको विरोधमा सुदूरपश्चिम प्रदेश सभामा ढुङ्गामुढा

अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । सुदूरपश्चिमका स्थानीय तहले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै आन्दोलनरत विद्यार्थीहरुले प्रदेश सभा अगाढी प्रदर्शन गर्दै ढुङ्गामुढा समेत गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेका विद्यार्थीहरूले प्रदेश सभाको अगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै उनीहरूले प्रदेश सभामा ढुङ्गामुढा समेत गरेका छन् ।

विद्यार्थीहरुले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका छन । प्रहरीले आन्दोलनरत दुई जना बिद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रदेशका स्थानीय तहमा अस्थायी तथा करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेका हुन् ।

विधायन तथा प्रदेश मामिला समितिले तयार गरी प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा उल्लिखित उक्त प्रावधानप्रति विद्यार्थी संगठनहरुले संयुक्त रूपमा विरोध गर्दै आएका छन् । सीमित कर्मचारीलाई लाभ हुने भन्दै विद्यार्थीहरूले विरोध गर्दै आएका हुन् ।

Dhangadhi 2081
Loading...