भाइको हत्या गरेर फरार भएका कर्ण पक्राउ

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँमा भएको गोलीकाण्डका मुख्य अभियुक्त कर्णबहादुर विष्ट पक्राउ परेका छन् । ४५ वर्षीय विष्टलाई भारतको धारचुलाबाट शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गत शनिबार राति भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टलाई गोली हानी हत्या गरेर फरार भएका कर्णबहादुरलाई प्रहरीले मोबाइल लोकेसन ट्र्याक गरी पक्रिएको हो । उनी भारतसँग सीमा जोडिएको धारचुला क्षेत्रमा लुकेर बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, उनलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको छ । अनुसन्धानका क्रममा सुरेन्द्र र कर्णबहादुरबीच ४० हजार रुपैयाँको लेनदेन विवाद रहेको खुलेको छ ।

शनिबार बेलुका करिब ८ बजे घर नजिकैको होटेलमा खाना खाइरहेको बेला दुईबीच भनाभन भएको थियो । विवाद चर्किएपछि कर्णबहादुरले गोली प्रहार गरेका थिए । प्रहरीका अनुसार, कर्णबहादुर पहिले पनि हातहतियार ओसारपसारको अभियोगमा संलग्न रहिसकेका छन् ।

Deep Jyoti Pustak psl
Loading...