धनगढी : प्रधानमन्त्री ओलीले धनगढीमा निर्मित धनगढी सभाहलको उद्घाटन गरेका छन् । शहरी विकास मन्त्रालयको लागतमा धनगढी उपमहानगर वडा नम्बर ८ मा निर्माण गरिएको सभाहलको एक समारोहबीच आईतबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ । प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।
सङ्घीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो । सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो । सहरी विकासले प्रधानमन्त्री ओलीमार्फत धनगढी उपमहानगरपालिकालाई सञ्चालनको लागि आइतवार सभा गृह हस्तान्तरण गर्दै छ । सभा गृह सञ्चालनका लागि आवश्यक फर्निचर लगायतका उपकरण जडान नभएको भन्दै उपमहानगरपालिकाले बुझ्न मानिरहेको थिएन ।
सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो। धनगढी उपमहानगरपालिका-८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ । सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ । दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ । सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन् । विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ । सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो ।
