अत्तरिया : कैलालीको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शोक सभा आयोजना गरेको छ । संस्थाका स्वर्गिय अध्यक्ष टीका दत्त जोशीको १३औँ दिनको पुण्य तिथिका अबसरमा शोक सभा आयोजना गरेको हो ।
संस्थाले कार्यालयमा आयोजना गरेको शोक सभामा उपस्थित संस्थाका पदाधिकारी, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जोशीको सम्झनामा मौन धारण गर्दै तस्बिरमा पुष्प गुच्छा अर्पण गरेका थिए । सहभागिहरुले स्वर्गीय जोशीले संस्थाको प्रगतीका लागि गरेका कार्यहरु सम्झदै उनको योगदानको बारेमा चर्चा गरेका थिए ।
शोक सभा कार्यक्रममा गोदावरी-४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल , अत्तरिया खानेपानि संस्थाका सल्लाहकार हरिकृष्ण पाण्डे, उपाध्यक्ष शेर बहादुर बिष्ट, महासचिव महादेब भट्ट, टिकापुर खानेपानीका कार्यबाहक अध्यक्ष सृजना शर्मा पण्डित लगाएतले जोशीले समाज र खानेपानी संस्थाको बिकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताए ।
गोदावरी-४ निवासी जोशीको ६८ वर्षको उमेरमा गत फागुन १५ गते निधन भएको थियो । निमोनियाको समस्याबाट ग्रसित जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अत्तरिया खानेपानीका अध्यक्ष जोशी अत्तरिया सामुदायिक सिकाई केन्द्र, प्रतिभा पुस्तकालय, राष्ट्रिय वन महासंघ लगायत करिब एक दर्जन संघ संस्थाहरुमा विभिन्न पदमार्फत समाज सेवामा सक्रिय रहेका थिए ।
त्यस्तै आज नै संस्थाले स्व.जोशीको उपचारमा लागेको खर्च र क्रियाखर्च बाफत रु.३ लाख १० हजारको चेक उनको परिवारलाई हस्तान्तरण गरेको छ । खानेपानीकै कामको सिलसिलमा काठमाण्डौ गएको अवस्थामा विरामी भई निधन भएकाले संस्थाले उपचारमा लागेको खर्च र क्रियाखर्च परिवारलाई हस्तान्तरण गरेको संस्थाका सहायक व्यवस्थापक यादव फुलाराले बताए ।
