कञ्चनपुर : कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो ।
स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन । उनको हत्या भएको आरोपपछि सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई शनिवारनै प्रहरीले पक्राउ गरेको छ ।
महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै सुनारको हत्या गरेको मृतककी बुहारीले बताएकी छन् । ३० वर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए ।
मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन । एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट नेपाल फर्किएका गोपाल सुनार र उनकी कान्छी श्रीमतीले पुर्खाको सम्पतीमा आँखा लगाउदै कसी सुनारलाई घर छोड्न दबाब दिदै गाली गलोज, कुटपिट गर्दै आईरहेको बताएकी छन् । शुक्रवार राति पनि श्रीमान र कान्छी श्रीमती मिलेर कुटपिट गरिरहेको अवस्थामा बुहारीले बचाएको छिमेकीहरूले बताएका छन् ।
मृतकका भाई सुनील सुनारले दिदीको हत्या श्रीमान र कान्छी श्रीमतीले नै गरेको दाबि गरेका छन् । कामबाट फर्केर खाना खाई थकाई मेटाउन बेडमा सुतिरहेको अवस्थामा दिदीको एकै छिनमा मृत्यु हुने कुरा असम्भव रहेकाले आत्महत्या नभई हत्या भएको उनको दाबी छ ।
मृतक सुनारको शव परीक्षणको लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको बताएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्र हत्या वा आत्महत्या भन्ने विषयमा खुल्ने प्रहरीले बताएको हो। मृतक सुनारका छोरा भारत छन् ।
