आज हाम्रा गाउँबस्ती युवाविहीन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदै छ भन्ने दिशा निर्देश गर्दछ । युवालाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवं अन्य विषयको खाँचो पर्छ। आवश्यकताका क्षेत्रमा युवालाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकालाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ।
राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवालाई राज्यको मूलप्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरूलाई युवामैत्री बनाइनु पर्छ । साथै, हरेक राजनीतिक पार्टीले युवासम्बन्धी आफ्नो स्पष्ट नीति बनाउनु पर्छ, जसले राज्यका विभिन्न निकायबाट युवाका लागि सञ्चालन गरिने कार्यक्रमलाई समन्वय गर्न र पार्टीभित्र पनि युवा नेतृत्व निर्माण गर्न मद्दत पुग्ने छ ।
युवाले पनि कुनै पूर्वाग्रह नराखी आफ्नो चेतनाको सही सदुपयोग गर्दै अघिल्लो पुस्ताको अनुभवबाट सिक्दै उनीहरूसँग सम्मानपूर्वक सहकार्य गर्दै मुलुकमा विधिको शासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र रोजगारी सिर्जना आदि जस्ता नागरिकका आधारभूत आवश्यकताका निम्ति अग्रसर हुनु अत्यावश्यक छ। अनि मात्र हामीले परिकल्पना गरेको समृद्ध, प्रगतिशील र समतामूलक समाज र राष्ट्रको निर्माण हुन सक्छ। अबको समय युवाको हो ।
सुसिल ओखेडा
सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला बित्थडचिर गाउँपालिका वार्ड नं ६ बझाङ, दलितका लागि दलित अभियान केन्द्रीय समिति सदस्य तथा बित्थडचिर प्रवासी दलित एकता समाज भारत केन्द्रीय प्रवक्ता
