सुदूरपश्चिममा मुख्यमन्त्री,मन्त्री र कर्मचारीहरुको तलब रोकियो

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र कर्मचारीहरूको तलब रोकिएको छ । लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो ।

लेखा समूहका अधिकृतहरूले प्रदेश निजामती सेवामा नवौँ तहबाट प्रशासन समूह हटाउनुपर्ने, लेखा समूहको ओएण्डएम गर्नुपर्ने, र प्रदेश लोकसेवा आयोगले खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गर्नुपर्ने माग राखेका छन् । माग पुरा नगरे संघमा फिर्ता जानुपर्ने चेतावनीसमेत दिएका छन् ।

गत बुधबारदेखि लेखा अधिकृतहरूले भुक्तानी प्रक्रिया रोकेपछि तलब रोकिएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले बताए । सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट ७० दिन ढिलोगरी मात्रै पारित गर्न सकेको थियो । अब आन्दोलनका कारण पुनः तलब भुक्तानीमा समस्या उत्पन्न भएको हो ।

लेखा समूहतर्फका कर्मचारी वृत्ति विकासको कानुनी व्यवस्थाको माग गर्दै एक साता अघिदेखि आन्दोलित छन् । उनीहरूले फागुन २१ गतेदेखि भुक्तानी तथा निकासा रोक्का गरेका छन् । प्रदेश मन्त्रालय, प्रदेश सभा सचिवालयहरूमा अहिले पनि लेखा अधिकृतको दरबन्दी रहेको छ । प्रदेश सचिवको दरबन्दी रहेका कार्यालयहरूमा लेखा अधिकृतको स्थानमा लेखा उपसचिवको दरबन्दी बनाउन सक्दा आफूहरूको माग सम्बोधन हुन सक्ने उनीहरू बताउँछन् ।

लेखा अधिकृतहरूको आन्दोलन समाधान गर्नका लागि आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । उक्त समितिले प्रदेशमा लेखा समूहका उपसचिवको आवश्यकता महसुस गरेर दरबन्दी थप गरे अहिले आन्दोलन गरिरहेका कर्मचारीहरूले आन्दोलन फिर्ता लिने भन्दै सरकारले त्यसो नगर्दा आन्दोलन अझै लम्बिने उनीहरू बताउँछन् ।

Nabadurga Sunchadi
Loading...