डोटीको गहनानमा महायज्ञ आयोजना हुने

पूर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

डोटी : डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैन स्थित पवित्र तीर्थस्थल गहनान त्रिवेणी धाममा श्रीमद् देवी भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञ लाग्ने भएको छ ।

यही चैत्र १७ गतेदेखी २५ गतेसम्म गहनानमा महायज्ञ लाग्ने भएको हो । डोटी र डडेल्धुराको संगमस्थल गहनान भूमिराज देवताको देवस्थलमा महायज्ञ लगाउन लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ललित बलायरले जानकारी दिए। समितिले पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको बारेमा जानकारी दिएको हो ।

डोटी र डडेल्धुराको सिमाना (सेती नदी र शाकल्य नदिको सङ्गम) स्थल शाकल्य ऋषिले तपस्या गरी ज्ञान आर्जन गरेको पवित्र ऐतिहासिक भूमि मानिन्छ । पौराणिक कालमा ५ पाण्डवहरूले ध्यान तपस्या गरेको पवित्र स्थल समेत गहनानलाई मान्ने गरिन्छ। सो क्षेत्रको समग्र विकासमा टेवा पु-याउन र हिन्दुधर्मालम्बीहरुको आस्थाको गन्तव्य स्थल बनाउन तथा तीर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महायज्ञ समितिका संयोजक बलायरका अनुसार महायज्ञको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गर्ने छन् भने महायज्ञको प्रमुख वाचक आध्यात्मिक प्रमुख वाचक पण्डित श्री ऋषिकेश उपाध्याय रहने छन । महायज्ञमा तुला दान, अन्न दान, गौदान, आरती सेवा, विशेष पूजा, ब्राह्मण पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध लगायत कार्यक्रमहरू हुने उनले बताए ।

त्यससँगै योगबिज्ञान शिविर, शालिग्रामपुजन, देव भागवत, मुलपाठ, रुद्री श्रीमद्भागवत कथा प्रवचन, झाँकी बालसँस्कार कार्यक्रम, भजनकृत लगायतका कार्यक्रम पनि हुने बलायरले बताए । यससँगै दाताहरूलाई सम्मान पत्र दिईने तथा दाताको नाम शिलापत्रमा अंकित पनि गरिने आयोजकले जनाएको छ । महायज्ञ सम्पन्न गर्न विभिन्न २० वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।

महायज्ञ कार्यक्रममा २ लाख बढी दर्शनार्थीहरु दर्शन गर्न आउने अनुमान गरिएको र १ करोड बराबर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । डडेल्धुराको गन्यापधुरा, नवदुर्गा, डोटीको शिखर नगरपालिका मुख्य संरक्षकको भूमिकामा रहेका छन् । ३ वटै पालिकाहरूको स्वामित्व रहेको गहनान क्षेत्र भएपनी सुदूरपश्चिमका ८८ वटै पालिकाहरूलाई आवश्यक सहयोगको लागि आह्वान गरिएको बलायरले बताए ।

Nabadurga Sunchadi
Loading...