अत्तरिया : कैलालीको अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि भएको खुकुरी प्रहारको घटनामा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पक्राउ परेकामा धनगढी उपमहानगरपालिका-१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका-१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट रहेका छन् । सिंहलाई फागुन २७ गते प्रत्यक्ष संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो भने भट्टलाई घटना घटाउन सहयोग गरेको आरोपमा चैत्र ७ गते पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
यसअघि सोही घटनामा फागुन २६ गते गोदावरी-५ गेटाबाट चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरिएको थियो ।
फागुन २२ गते नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय धनगढी वितरण केन्द्र अन्तर्गत अत्तरिया नो लाईट सेवामा फोर म्यानका रूपमा कार्यरत सुन्दरलाल चौधरीमाथि कार्यालय परिसरमै दिनदहाडै खुकुरी प्रहार भएको थियो । उक्त घटनामा संलग्न ६ जना मध्ये अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
