अत्तरिया– कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्था लिमिटेडले गोदावरी नगरपालिका– ८ स्थित मजगाउँमा नवजीवन खाद्य उद्योग (राईस मिल) को स्थापना गरी सनिवारदेखि चामल बिक्रि वितरण सुरु गरेको हो ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष देव बहादुर बमले शेयर सदस्यहरूलाई कृषि सँग जोड्न चामल उत्पादन सुरु गरेको बताए । उनले राइस मिलमा हाल सम्म १६ हजार २ सय ८७ क्विन्टल धान खरिद गरी १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको बताए । जसबाट ६५१ क्विन्टल चामल उत्पादन भएको छ ।
सहकारीले २५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकेको छ । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमको भनाइ छ । उनका अनुसार उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री वितरण गरिने भएको छ । उनले छिटै होम डेलिभरीको व्यवस्था पनि गरिने बताए । नवजीवनका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र अर्गानिक चामल खान पाउन भनेर पहिलो चरणमा चामल उत्पादन सुरु गरेको र आगामी ६ महिना भित्रै तोरीको तेलको पलान्ट सुरु गरेर एक वर्षभित्र शुद्ध तोरीको तेल उत्पादन गर्ने योजना रहेको समेत अध्यक्ष बमले जानकारी दिए ।
२०५० सालमा स्थापना भएको सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा रहेको छ । सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको हो ।
