धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु

धनगढी : कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । चैत २ गते सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका-६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा शनिबार खड्काको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार अन्य दुई जना घाइतेको पनि काठमाडौंमै उपचार भइरहेको छ ।

मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्दराज जोशी उपचाररत छन् । जोशीको पसलबाट ग्यास सिलिन्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन् । सोही क्रममा सिलिन्डर पड्किएपछि उनीहरु तीनै जना घाइते भएका थिए ।

Nabadurga Sunchadi
Loading...