धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि साढे ३१ लाख रुपियाँ बढी खर्चेर ल्यापटप खरिद हुँदैछ । प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो ।
प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ ।
प्रदेश सभा सचिवालयले लेनेभोको आई-५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ । ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो । आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ । सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ (मूल्य अभिवृद्धि करसहित) मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ ।
बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा १० जना सरकारमा छन् । मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीबाहेकका प्रदेश सभा सदस्यका लागि प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिद गर्न लागेको हो ।
यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो । प्रदेश सभा सचिवालयले आई-३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो । सो ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने बनेका जनाइएको छ । यसैगरी, कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेका जनाइएको छ । पाँच वर्षे कार्यकाल सकिएपछि धेरैजसोले प्रदेश सभालाई नै ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिलेसम्म ल्यापटप फिर्ता नगरेको जैसीले बताए ।
पुरानो ल्यापटपको कतिपयको डिसप्ले गएका जनाइएको छ । केही नचल्ने भएका छन् । चलेकाहरू पनि ढिलो चल्ने गरेको बताइएको छ ।
