अत्तरिया : धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेला सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच सांस्कृतिक कल्चर बाहेकका २८ विधाको तालिममा सहभागीलाई प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा ८६ जना प्रशिक्षकहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख नन्दकला रानाले तालिमले धनगढीको मात्रै नभएर सिङ्गो सुदूरपश्चिमको आर्थिक समृद्धिमा टेवा पुग्ने बताइन् । उनले सीप तथा रोजगार मेलाले युवाहरूलाई स्वदेशमै काम गर्ने बाटो देखाएको बताइन् । ‘विकासमा महत्त्वपूर्ण भनेको सामाजिक विकास पनि हो । यसलाई सफल पार्नको लागि सुदूरपश्चिमका युवाले ठुलो भूमिका खेल्नु भएको छ’ उनले भनिन् ‘यो मेलालाई अर्को वर्ष पनि निरन्तरता दिन्छौ ।’
प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले तालिम यस क्षेत्रको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले रोजगारदातालाई रोजगारीमा लिनका लागि तालिमले सहज हुने विश्वास लिएको बताए । यस्ता कार्यक्रममा निरन्तरता दिनुपर्ने उनले बताए । धनगढी उपमहानगरपालिकाले २९ विधाका १ हजार ४० जनालाई तालिम दिएको थियो ।
