धनगढीमा नेकपा एमालेले प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने

अत्तरिया: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले यही चैत २९ गते धनगढीको पार्कमोडमा प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने भएको छ।

पार्टीको प्रदेश प्रचार तथा प्रकाशन विभागको शुक्रबार बसेको बैठकले विशेष सभाको तयारी तीव्र पारिएको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध खबरदारी गर्न सभा आयोजना गर्न लागिएको विभाग प्रमुख तथा प्रदेश उपसचिव भागरथी विष्टले जानकारी दिइन्।

नेकपा एमालेले हाल देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रूपमा यो सभा कैलालीमा आयोजना गर्न लागिएको प्रदेश सचिव रणबहादुर चन्दले बताए। “एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रूपमा यो सभा आयोजना हुँदैछ,” उनले भने।

पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि जनतालाई सचेत बनाउन बृहत् कार्यक्रम आयोजना गरिएको बताए। “पूर्वराजाका नाममा अराजक तत्वहरूले समाजमा अशान्ति सिर्जना गर्ने गतिविधि गरिरहेका छन्, त्यसविरुद्ध खबरदारी गर्न पनि सभा आयोजना गरिएको हो,” उनले भने।

सभामा एमालेका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले परिवर्तन पक्षधर आम जनता, सबै तहका नेता तथा कार्यकर्ताहरूलाई सभामा सहभागी हुन आह्वान गरेका छन्।

“परिवर्तनविरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन र जनताको साथमा एमाले छ भन्ने सन्देश दिन सभा आयोजना गरिएको हो,” इन्चार्ज भट्टले बताए। पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिको अवसरका रूपमा लिएको जनाएको छ।

Nabadurga Sunchadi
Loading...