अत्तरिया : कैलालीको अत्तरियामा भेटिएको शवको पहिचान खुलेको छ । गाेदावरी नगरपालिका-१ अत्तरिया स्थित दुर्गा मन्दिर परिसरमा बुधबार हत्या गरेकाे अवस्थामा फेला परेको शव अमरगढी नगरपालिका-७ स्थित पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको खुलेको हो ।
शवको जगदीशका दाइ राम कैनीले सनाखत गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । उनकाे शव सेती प्रादेशिक अस्पतालमा राखिएको र अब पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाईने बताए । पोष्टमार्टमपछि शव परिवारकाे जिम्मा लगाइने भएको छ ।
जगदीश पहिले देखि परिवारको सम्पर्कमा नरहने गरेको खुलेको बताउदै डिएसपी थापाले मृतकको दाजु भाउजू भए पनि आमाबुवा, श्रीमती, छोराछोरी नभएको बताए ।
घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको तर हत्या गर्नेको पहिचान भने नखुलेको बताउदै डिएसपी थापाले घटनाको अनुसन्धान भइरहेको बताए ।
