चिसापानी-कुइने सडकका चार सय ७२ रुख कटान गर्न सम्झौता

धनगढी : कैलालीको चिसापानी-कुइने सडकका चार सय ७२ वटा रुख कटान गर्न सम्झौता भएको छ । सङ्घीय वन तथा वातावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभाग र सडक विभागको बिचमा मङ्गलवार सम्झौता भएको हो ।

सम्झौता पत्रमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-३ र मोहन्याल गाउँपालिका-७ चिसापानी-मंगलसेन सडकको १६ किलोमिटर खण्डको स्तरोन्नतिका लागि वन ऐन, २०७६ को दफा ४२ को उपदफा (१) बमोजिम राष्ट्रिय वनको आठ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्ने दिने भनिएको छ । सो जग्गामा रहेका विभिन्न जातका चार सय ७२ वटा रुख गोल हटाउन स्वीकृति दिने भनेर २०८० पुस २४ गते निर्णय भएको हुँदो वन ऐन, वन नियमावली अनुसार स्वीकृति दिइएकोसमेत सम्झौतामा भनिएको छ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सम्झौता भएको हो । सडकमा रहेका रुख कटानीको आदेश नभएकाले सात दशमलव २ किलोमिटर निर्माणको काम रोकिएको थियो। चिसापानी-कुइने सडकको सात दशमलव २ किलोमिटर खण्ड १२ करोड ८० लाख लागतमा कालोपत्रका लागि दिव्यज्योती-शाही जेभीसँग २०७९ साउन ३ गते ठेक्का सम्झौता गरेको थियो। सडक निर्माणको म्याद आउदो असारमा सकिदै छ । तर, रुख कटान आदेश नपाउदा हालसम्म काम अलपत्र अवस्थामा छ ।

चिसापानी-कुइने सडक निर्माणको माग गर्दै स्थानीय नेत्र भण्डारीले अनसन थालेका थिए । भण्डारीले गत बुधवार कर्णाली पुलमा अनसन सुरु गरेकामा सोमवार तोडेका थिए । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले रुख कटानीको सम्झौताको चरणमा रहेको भन्दै अनसन स्थगित गर्न आग्रह गरेका थिए ।

Nabadurga Sunchadi
Loading...