अत्तरियामा मदिराको तालमा प्रहरी कार्यालय अगाडी यसरी गरियो कैनीको हत्या

अत्तरिया : कैलालीको अत्तरियामा इलाका प्रहरी कार्यालय अगाडी रहेको दुर्गा मन्दिरमा मृत भेटिएका डडेल्धुराको अमरगढी-७ का ३५ वर्षीय जगदीश कैनीको हत्या आरोपितलाई सार्वजनिक गरिएको छ ।

गोदावरी नगरपालिका-१ दुर्गा मन्दिरमा चैत २७ गते बिहान मृत भेटिएका कैनीको हत्याका आरोपित बैतडीको डिलासैनी गाउँपालिका-३ सीमारका ३५ वर्षीय हेमन्तबहादुर बोहरालाई आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले सार्वजनिक गरिएको हो ।

बोहराले पैसा चोरेको रिसको झोकमा अत्तरिया बजारका सडक पेटीमा बस्दै आएका कैनीको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । थापाका अनुसार पक्राउ परेका बोहरा पूर्व सशस्त्र प्रहरी पनि हुन् ।

यस्तो थियो घटना : ‘चैत २६ गते दिउँसो घटनास्थल नजिकैको शिविरमा हेमन्त र एक महिला मदिरा खान्छन् । उनीहरू नजिकैको धारामा केहीबेर कुरा गरेर छुटिएका हुन्छन् । प्रहरीको अनुसन्धानमा उनी राति करिब ८ः४५ बजे कैनी सुत्न आउँछन् । त्यसअघि नै बोहरा सुतिसकेका हुन्छन् । राति करिब ९ बजेपछि हेमन्त रक्सी किन्न फेरि बजार पुग्छन् । अनुसन्धान खटिएका प्रहरी अधिकारीले भने ‘अभियुक्तले एउटा पसलबाट रहर नामक मदिरा किन्छन् र फेरि घटनास्थलतर्फ लाग्छन् । उनी ९ः१५ बजेको समयमा मन्दिरमा पुग्छन् । त्यहाँ एक निन्द्रा सुत्छन् । मदिरा पिएपछि फेरि पानी लिन मध्यरातमा धारा जान्छन् । त्यही क्रममा आफ्नो गोजीमा राखेको चार सय नदेखेपछि आक्रोशमा आएको देखियो । चैत ३ गते उनको झोला पनि हराएको रहेछ ।’

इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख गंगाबहादुर थापाले भने, ‘मेरो पैसा चोरिस्, यसअघि झोला चोर्ने पनि तैँ होस् भन्दै बोहराले आवेगमा आएर कैनीलाई सुतेकै ठाउँमा ढुङ्गाले हाने । उनको मृत्यु नै भयो ।’ कैनीको हत्यापछि हेमन्त शव केही तल ल्याएर फेरि ढुङ्गा हानेको साथै केही लुगा र हत्या गर्न प्रयोग गरेको ढुङ्गा फालेर घटनास्थल नजिकैको घरमा सुतेको खुलेको छ । बिहान करिब ५ बजे उनी धनगढी पुगेर होटेल चौलानीमा काम गर्न थालेका थिए । त्यहाँबाट २ हजार लिएर घर हिँडेका थिए ।

‘घर जाने भन्दै निस्किएका बोहरा फेरि घटनास्थलतर्फ गएर मदिरा पिउन थाल्छन्’, डीएसपी थापाले भने, ‘घटनास्थल नजिकै हामीले अनुसन्धान गरिरहेको र आशँका गरेको व्यक्ति देखिएको भन्दै खबर आएपछि बोहरा पक्राउ परेका हुन् ।’ चैत २६ गते पावनदुत यातायातबाट आएको भन्दै उनले प्रहरीमा इन्कारी बयान दिए । तर, त्यो दिनको यात्रुको सूचीमा उनको नाम फेला परेन । थप केरकार गर्नपछि जगदीशलाई आफूले मारेको हेमन्तले स्वीकारेका हुन् । ’५०\५५ जानलाई सोधपुछ गरेका थियौं । सीसी टिभी फुटेज र अन्य तथ्य प्रमाणको आधारमा घटनामा बोहराको संलग्नता भएको पाएका हौँ’, डीएसपी थापाले भने ।

बोहरालाई ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरी म्याद थप गरिएको छ । दुबई गएर ६\७ महिनामा फर्किएका उनी होटेलहरूमा काम गर्दै आइरहेका थिए । अभियुक्त र मृतकबिच यसअघि कुनै सम्पर्क-सम्बन्ध नदेखिएको प्रहरीको दाबी छ । घटनाको अनुसन्धानका लागि प्रहरीले यसअघि नियन्त्रणमा लिएका अन्य तीन जना व्यक्तिहरूको सङ्लन्नताको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

घटना भएको दिन मन्दिरको मुख्य प्रवेशद्वारमा ताला लगाइएको भए पनि अन्य ३ वटा प्रवेशद्वार रहेको मन्दिरको एक प्रवेशद्वार भने सधैँ खुला रहने गरेको छ । सोही बाटो भएर अत्तरियाका सडक पेटीमा सुत्नेहरू पनि रातीको समयमा मन्दिरमा पुग्ने गरेका छन् । प्रहरी कार्यालय र घटनास्थलको दुरी करिब १०० मिटर छ अर्थात प्रहरी कार्यालय र घटनास्थल सडकको वारीपारी छन् । इप्रका मालाखेतीको मुख्य गेटमा पनि नियमित ड्युटी हुन्छ । तर उक्त घटनाको सुइँको नपाएको इप्रका मालाखेती चैत्र २७ गते बिहान करिब ७ बजे मात्रै घटनास्थल पुगेको थियो । अत्तरिया क्षेत्रमा दिनदहाडै खुकुरी प्रहार र हत्याका घटना सार्वजनिक भएपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

Deep Jyoti Pustak psl
Loading...