अत्तरिया : कैलालीको गोदावरी मोबाइल संघले अत्तरिया बसपार्कमा निःशुल्क सर्बत पानी वितरण गरेको छ । गर्मीको समयमा यात्रुहरूलाई राहत होस भन्ने उद्देश्यले ‘सामाजिक सद्भावना, व्यवसायीक सुरक्षा हक, अधिकार हाम्रो कामना’ भन्ने नाराका साथ संघले शनिवार सर्बत पानी वितरण गरेको हो ।
संघका अध्यक्ष गङ्गा प्रसाद निरौलाले मोबाइल व्यवसायीले व्यवसायी मात्रै नगरेर सामाजिक उत्तरदायित्व वहन गरेर गर्मीको समयमा यात्रुलाई राहत होस भनेर पानी वितरण गरिएको बताए ।
उनले नौ जिल्लाकै मुख्य प्रवेशद्वार अत्तरिया बसपार्कमा भएका यात्रुहरूलाई, बाटोमा हिँड्ने पैदलयात्रुहरुलाई गर्मीको समयमा व्यवसायी मिलेर धेरै नसके पनि चिसो मिठो पानी वितरण कार्यक्रम आयोजना गरेको बताए ।
उनले ३ हजार लिटर पानी वितरण गर्ने लक्ष्य अनुसार पानी वितरण गरिएको बताएका छन् । संघले आगामी दिनमा पनि यस प्रकारका सेवा कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाइरहेको छ ।
