कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गोदावरी नगरपालिकालाई हस्तान्तरण

अत्तरियामा नागरिक आरोग्य सेवा केन्द्र भवनको उद्घाटन

अत्तरिया : कैलालीको अत्तरियामा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तरगतको आर्थिक कोरिडोर कार्यालय डडेल्धुराले निर्माण गरेको उक्त भवन सोमबार गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

सोमबार एक औपचारीक कार्यक्रमका बिच भवन नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । रिड आयोजनाका निर्देशक चन्द्र प्रसाद रिजालको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा रोकाया रहेकी थिईन ।

कार्यक्रममा आयोजनाका निर्देशक रिजालले गोदावरीबासीका लागि सुविधासम्पन्न भवन निर्माण हुनु खुसीको क्षण भएको बताए । उनले उक्त भवन निर्माणमा २ करोड ७९ लाख भ्याट सहित लागेको बताए । उनका अनुसार सो रकमले भवन निर्माण सहित भवनमा आवश्यक पर्ने सम्पुर्ण उपकरणहरु पनि जडान गरिएको बताए । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि र पशुपंछी क्षेत्रलाई अघि बढाउन आयोजनाले यस्ता कार्यहरु गर्दै आईरहेको उनले बताएका छन् ।

विश्व बैंकको आर्थिक सहयोगमा कृषि तथा पशुपंक्षि विकास मन्त्रालय मार्फत सञ्चालनमा रहेको ग्रामीण तथा आर्थिक विकास आयोजना अन्तरगत सुदूरपश्चिमका १० वटा पालिकामा हाल भवन निर्माणको कार्यक्रम सञ्चालन रहेको छ । आयोजना अन्तरगत १० पालिकामा भवन बनिरहेका भएपनि हाल आयोजनाले १७ पालिकामा काम गरिरहेको छ ।

अत्तरियामा कृषि तथा पशुपन्छी सेवा केन्द्रको २०८० भाद्र १३ गते गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले शिलान्यास गरेका थिए । उक्त भवन नगरपालिकाको वडा नम्बर १ को कार्यालय नजिकै निर्माण गरिएको छ । उक्त भवन २०८१ असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी काठमाण्डौको सिनरजित विल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो । केन्द्रमार्फत कृषि तथा पशुका कार्यक्रमहरू, बालीका कार्यक्रमहरू तथा किसानहरूसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।

यस्तै अत्तरियामा रहेको नागरिक आरोग्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ। सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उक्त भवनको उद्घाटन गरेका हुन् । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय अन्र्तगतको सो कार्यालयको भवन निर्माणका लागि नगरपालिकाले आफैले लगानी लगाएको थियो ।

नगरपालिकाको १३ लाखको लगानीमा निर्माण गरिएको सो भवनबाट आयुर्वेदिक तरिकाबाट विभिन्न किसिमका रोगहरुको उपचार गरिने बताईएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले सो कार्यालयको भवन निर्माणमा नगरपालिकाले आर्थिक सहयोग गरेको बताए । त्यतिमात्रै नभई कार्यालयको सञ्चालनका लागि आवश्यक पर्ने औजार उपकरणहरु पनि पालिकाले सहयोग गरेको उनले बताए । कार्यालयमा हाल २ जना कर्मचारीहरु कार्यरत रहेका छन ।

Loading...