ईप्रका मालाखेतीका डिएसपी थापाका १३ महिना: लागूऔषधसहित र होटलबाट २ सय बढी पक्राउ, हत्या अनुसन्धानमा सफलता
अत्तरिया : कैलालीको अत्तरिया स्थित ईलाका प्रहरी कार्यालय मालाखेतीले लागूऔषध नियन्त्रण र होटलहरूबाट अनैतिक गतिविधिमा संलग्न २ सय बढी पक्राउ गर्नुका साथै हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको छ ।
१३ महिना अगाडि इप्रका मालाखेतीको नेतृत्व सम्हालेर सरुवा हुन लागेका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै होटलमा हुने अनैतिक क्रियाकलापमा संलग्न १०४ जना पक्राउ गरेको जनाएका छन् । उनले सो अवधिमा लागू औषध सहित १ सय जना पक्राउ परेको बताए । उनका अनुसार पक्राउ परेकाहरूको साथबाट ७८ ग्राम ८३२ मिलिग्राम खैरो हिरोइन, २१ किलो २८० ग्राम चरेस, २८० ट्याब्लेट नाईट्राभेट/ट्रामाडोल, १ हजार टेपाण्डाडोल बरामद गरिएको छ । लागू औषधका ५९ मुद्दामा ९५ पुरुष र ५ महिला पक्राउ परेको उनले बताए ।
उनले १३ महिनाको अवधिमा जुवा तास सम्बन्धी मुद्दामा ८५ जना पक्राउ परेको बताए । उनीहरूको साथबाट ६ लाख १० हजार, १४९ बरामद गरिएको थियो । त्यस्तै १३ महिनाको अवधिमा १ करोड १६ लाख ७० हजार ६५५ रुपैयाँ बराबरको भन्सार छलीको सामान समेत बरामद गरिएको डिएसपी थापाले बताए । उनले १३ महिनाको अवधिमा ५० जना फरार पक्राउ गरी ६ वर्ष २० दिन कैद भुक्तान र ८ लाख ८२ हजार ८६३ रुपैयाँ जरिवाना असुल गरिएको बताए । उनले यो अवधिमा २७७ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरिएको बताए ।
डिएसपी थापाले आफ्नो कार्यकालमा भएका गोदावरी नगरपालिका-३ मा भएको सामूहिक जवर्जस्ती करणी घटना, गोदावरी नगरपालिका-५ गेटामा भएको कुमारी देवी थारुको शङ्कास्पद मृत्यु घटना, गौरीगंगा नगरपालिका-११ कान्तिपुरका ३५ वर्षीय सुरेश भुलको हत्या घटना र गोदावरी नगरपालिका-१ अत्तरियाको दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्या घटनाको सफल अनुसन्धान गर्न सफल भएको बताए ।
डिएसपी थापाले २०८० चैत १९ गते मालाखेती इप्रकाको जिम्मेवारी सम्हालेका थिए भने अहिले उनको गण्डकी प्रदेश प्रहरी गण पोखरा कास्की सरुवा गरिएको छ । उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा कार्यरत रण बहादुर चन्द आउने भएका छन् ।
