गोदावरी नगर स्तरीय मेयर कपको उपाधि आयोजक सितापुर क्लबलाई

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० मा आयोजित तेस्रो नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक न्यू सितापुर युवा क्लबले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा अत्तरियाको जिएसएम नाइट राइडर्सलाइ ७ विकेटले पराजित गर्दै आयोजक न्यू सितापुर युवा क्लब (ए) ले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको जिएसएम ले १४ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्रै बनाउन सक्यो । जिएसएमका कुनै पनि खेलाडीहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक टिमका खेलाडी पारस शाह म्यान अफ दी म्याच घोषित भए ।

उपाधि जितेसँगै आयोजक न्यू सितापुर युवा क्लबले नगद १ लाख १ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको जिएसएम नाइट राइडर्सले नगद ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गरेका न्यू सितापुर युवा क्लबका खेलाडी पारस शाह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए भएका छन भने प्रतियोगिताभर सबैभन्दा बढी १६ विकेट लिएका जिएसएम नाइट राइडर्सका खेलाडी भोज राज भट्टराई बेस्ट बलर तथा सबैभन्दा बढी २१४ रन बनाएका मष्टाबण्डली युवा क्लबका खेलाडी अर्जुन पार्की बेस्ट ब्याट्सम्यान घोषित भए । प्रतियोगितामा आयोजक टिमका खेलाडी सुमित पार्कीे राईजिङ प्लेयर घोषित भएका छन् ।

आज(बिहीबार) एक औपचारिक कार्यक्रमका बिच विजेता सम्पूर्णलाई पुरस्कार वितरण गरिएको थियो । आयोजक न्यू सितापुर युवा क्लबका अध्यक्ष श्याम स्वाँरको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) रहेका थिए भने विशिष्ट अतिथिमा वडा नं. ११ का वडाध्यक्ष प्रेम बडैला र वडा नं. १२ का वडाध्यक्ष भीम बहादुर खड्का रहेका थिए ।

कार्यक्रममा प्रतियोगितालाई भव्य रूपमा सम्पन्न बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।

Loading...