अत्तरिया : कैलालीको गोदावरी नगरपालिका नागरिक पेन्सन योजना लागू गर्ने देशभरमै पहिलो स्थानिय तह बनेको छ । नागरिक लगानी कोषले सञ्चालन गरेको उक्त योजना लागू गर्ने गोदावरी नगरपालिका पहिलो बनेको हो ।
शुक्रबार नागरिक पेन्सन योजना सञ्चालनका लागि नागरिक लगानी कोष काठमाण्डौ र गोदावरी नगरपालिकाबिच सम्झौता भएको छ ।
सम्झौतामा नगरपालिकाका तर्फबाट नगरप्रमुख विरेन्द्र भट्टले हस्ताक्षर गरेका छन भने साक्षीका रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी रहेका छन । यस्तै नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन, जसको साक्षीका रुपमा उपनिर्देशक नारायण प्रसाद घिमिरे छन ।
सम्झौतामा नगरपालिकाका शिक्षक/कर्मचारीहरुको कल्याणकारी कोष व्यवस्थापन कार्यविधि २०८१ अन्तरगत उनिहरुको मासिक तलबबाट रु. ५०० र नगरपालिकाद्धारा सञ्चालित शिक्षक/कर्मचारीहरुको कल्याणकारी कोषबाट मासिक रु. ५०० गरी मासिक रु. १ हजार जम्मा गरिने बताईएको छ । शुक्रबार नै दुवै पक्षले सम्झौता पत्र एक अर्कालाई हस्तान्तरण गरेका थिए ।
सम्झौता हस्ताक्षर पश्चात बोल्दै नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले देशका सबै स्थानिय पालिकाहरुमध्ये यस्तो किसिमको योजना लागू गर्ने गोदावरी नगरपालिका पहिलो भएको बताए । उनले नागरिक पेन्सन योजना २०७६ सालबाट सुरु भएको बताए । उनले सो योजनामा कम्तिमा पनि मासिक ५०० देखी माथी जम्मा गर्न सकिने बताए । उनले नागरिक पेन्सन योजनाको मुख्य उद्देश्य स्वआर्जनमा बस्ने सबै व्यक्तिहरु सहभागि हुन सक्नु रहेको बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले उक्त योजना करिब २ वर्ष अगाडी देखी नै आफूहरुले सञ्चालनमा ल्याउन खोजिरहेको बताउदै उनले नगरभित्रका १४२ जना नगरशिक्षकहरुलाई सो योजनाले सहज हुने बताए । उनले यस्ता किसीमका योजनाहरुले केही हदसम्म भएपनि कर्मचारी र नगरशिक्षकहरुलाई राहत मिल्ने बताए । नगरपालिकाले सो योजनाका लागि वार्षिक ३० लाख रुपैया छुट्याएको नगरप्रमुख भट्टले बताए ।
