अत्तरिया : कैलालीको अत्तरियामा सूचना प्रविधि दिवसको अवसरमा साईबर सुरक्षाका लागि डिजिटल साक्षरताका बारेमा कार्यक्रम आयोजना गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा कम्युटर्स एसोसियसन नेपाल (क्यान) सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार सो कार्यक्रमको आयोजना गरेको हो ।
साईबर सुरक्षाका बारेमा जानकारी दिनका लागि आयोजित सो कार्यक्रमलाई एक औपचारीक समारोहका बिच उद्घाटन गरिएको छ । क्यान सुदूरपश्चिमका अध्यक्ष धन बहादुर बोगटीको सभापतित्वमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले एक्काईसौ सताब्दीमा प्रविधिसँग अगाडी बढ्न आवश्यक रहेको बताए । प्रविधि भएर नै सबै क्षेत्रहरुमा कामकारबाहीका लागि सहजता भएको बताउदै उनले सबै जना प्रविधिसँग जोडिएको र प्रविधिको एकदमै महत्व रहेको अवस्थामा यसको सुरक्षा सर्तकताका बारेमा भने जानकार हुन जरुरी रहेको बताएका छन् । उनले सूचना प्रविधि दिवसको अवसरमा क्यानसँग सहकार्य गरेर नगरपालिकाले पहिलो पटक यस्तो किसिमको कार्यक्रम आयोजना गरेको बताए ।
क्यानका प्रदेश अध्यक्ष धन बहादुर बोगटीले प्रविधिको समयमा कार्यक्रम सबैका लागि अति नै आवश्यक भएको बताए । उनले जति सूचना प्रविधिका क्षेत्रमा गतिविधि गर्नका लागि सजिलो बनेको त्यतिकै जोखिम पनि रहेको बताए । सो जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले तल्लो स्तरमा साइबर सम्बन्धी सूचना पु¥याउन जरुरी रहेको र यसको बारेमा जानकारी गराउन जरुरी रहेको भन्ने सोचेर प्रदेश स्तरको कार्यक्रम भएपनि नगरपालिकाबाट कार्यक्रम सुरु गरिएको बताए ।
कार्यक्रममा नगरकार्यपालिका सदस्य, विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, वडासचिव, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, नगरभित्रका सामुदायिक विद्यालयहरुका शिक्षक लगायतको सहभागीता रहेको थियो । सहभागीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता डेकेन्द्र राज जोशी, क्यान महासंघका केन्द्रिय सचिव सरिता न्यौपाने र प्रहरी नायब निरिक्षक जीवन चौधरीले प्रशिक्षण दिएका थिए ।