कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु

धनगढी : आर्थिक वर्ष २०८०/०८१ मा कैलाली जिल्लाका १३ वटा स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार जिल्लाभरका स्थानीय तहको लेखा परीक्षण गर्दा यस्तो बेरुजु देखिएको हो ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु मोहन्याल गाउँपालिकामा देखिएको छ । गाउँपालिकाको कूल बजेट ९७ करोड २७ लाख ५९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ७ करोड ६ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको हो । त्यसैगरी लम्कीचुहा नगरपालिकाको १ अर्ब ८५ करोड ४८ लाख ९२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड ५७ लाख ८८ हजार बेरुजु देखिएको छ ।

गोदावरी नगरपालिकामा पनि ३ अर्ब ८१ लाख ३८ हजारको लेखा परिक्षण गर्दा ५ करोड ८ लाख ७४ हजार बेरुजु देखिएको छ । भजनी नगरपालिकाको १ अर्ब ५३ करोड ४ लाख ७६ हजारको लेखा परीक्षणमा ४ करोड ७४ लाख ९५ हजार बेरुजु भेटिएको छ । यसैगरी धनगढी उपमहानगरपालिकाको ४ अर्ब ४१ करोड ७७ लाख २९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ४ करोड ७२ लाख ६९ हजार बेरुजु देखिएको हो ।

टीकापुर नगरपालिकामा ४ करोड २९ लाख ७ हजार, कैलारी गाउँपालिकामा ३ करोड ३८ लाख २५ हजार, गौरीगंगा नगरपालिकामा ३ करोड २० लाख ९५ हजार, घोडाघोडी नगरपालिकामा ३ करोड १७ लाख ४९ हजार, चुरे गाउँपालिकामा २ करोड ५३ लाख ६६ हजार, जानकी गाउँपालिकामा १ करोड ५५ लाख ९० हजार, र बर्दगोरिया गाउँपालिकामा १ करोड ३६ लाख १४ हजार बेरुजु देखिएको छ ।

सबैभन्दा कम बेरुजु जोशीपुर गाउँपालिकामा देखिएको छ । १ अर्ब १० करोड ४० लाख ४४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ९६ लाख ७९ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो ।

Nabadurga Sunchadi
Loading...